भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुन्छ: एमाले महासचिव

910
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले विद्युत् नदिए लोडसेडिङको समस्या अहिले पनि कायमै रहने बताएका छन् ।

प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले तथ्यमा आधारित बहस आवश्यक रहेको बताए ।

‘पञ्चायतकालमा मात्र ८.८ प्रतिशत घरमा बिजुली पुगेको थियो, बाँकी जनता अन्धकारमै थिए । अहिले भने देशभर उज्यालो पुगेको छ । संविधान जारी गर्ने बेलामा १८ घण्टासम्म लोडसेडिङ थियो, तर अहिले हामी विद्युत् निर्यात गर्ने अवस्थामा छौं,’ उनले भने ।

हाल मुलुकमा ३ हजार मेगावाट विद्युत् उत्पादन भइरहेको भए पनि लोडसेडिङको जोखिम कायमै रहेको उनको भनाइ छ । ‘भारतले विद्युत् आपूर्ति नगरेमा लोडसेडिङ व्यहोर्नुपर्ने अवस्था रहन्छ,’ उनले भने, ‘लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न उठाउनेहरूले तथ्यमा आधारित बहस गर्नुपर्छ, न कि भ्रम सिर्जना गर्नु ।’