कोशी प्रदेशमा आयोजना बैंकमा योजना जम्मा गरिँदै


विराटनगर । कोशी प्रदेश आयोजना बैंकमा योजना जम्मा गर्न सुरु गरिएको छ । प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयको सहकार्यमा आयोजना बैंकमा जम्मा गर्न सुरु गरिएको हो ।

आज यहाँ उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र नं २ मा पर्ने स्थानीय तहका पदाधिकारी, सरोकार भएकाहरूलाई आयोजना बैंकबारे अभिमुखीकरण तथा वार्षिक योजना तर्जुमा गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।

आयोगका सदस्य किशोर थुलुङ्ग राईले पहिलो पटक आयोजना बैंकमार्फत आयोजना सङ्कलन सुरु गरिएको बताए । ‘बैंकमा जम्मा भएका योजनाको आवश्यकता र औचित्य हेरेर प्राथमिकीकरण गर्दै कार्यान्वयन गरिनेछ । त्यसैका लागि आयोजना बैंक बनाइएको हो’, उनले भने ।

यहाँको निर्वाचन क्षेत्र नं १ मा यसअघि नै आयोजना जम्मा गरिसकिएको छ । हाल प्रदेशका अन्य क्षेत्रमा पनि धमाधम आयोजना सङ्कलन भइरहेका आयोगका उपसचिव कृष्णकुमार न्यौपानेले जानकारी दिए । हाल जम्मा गरिएका योजना आगामी आर्थिक वर्ष २०८२/८३ देखि २०८६ सम्ममा प्राथमिकताका आधारमा कार्यन्वयनमा लगिने बताए ।

न्यौपानेका अनुसार आयोजना बैंकमा जम्मा हुने योजना प्रदेशले सञ्चालन गर्ने र त्यस्ता आयोजना रु पचास लाखमाथिका हुनुपर्नेछ । आगामी आर्थिक वर्षमा यस बैंकमा भएका आयोजनालाई मात्रै प्राथमिकीकरणमा राखेर योजना सञ्चालन हुनेछन् ।

कार्यक्रममा प्रदेशका पूर्वकृषि, सहकारी तथा उद्योगमन्त्री रामकुमार खत्रीले अल्पसङ्ख्यक र विगतमा पछि पारिएका समुदायलाई ध्यानमा राखेर आयोजना छनोट गरिनुपर्ने बताए । तीनै तहको सहकार्य र समन्वयमा आयोजना सञ्चालन गर्न सके मुलुकको विकासमा योगदान हुने उनको भनाइ थियो । प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जा मगरले योजना लिपिवद्ध गर्दै कार्यन्वयनमा लैजानु महत्वपूर्ण काम भएको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी र सरोकार भएकाहरूको सामूहिक छलफलबाट एक हजारभन्दा बढी आयोजना जम्मा गरिएका थिए ।

Skip This