निकी र रास्वपाका उपसभापति बीच भेट, ३९ प्रतिशत आयकर घटाउने पहल गर्न आग्रह

357
Shares

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निकी)को एक प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यवाहक सभापति तथा सांसद डोल प्रसाद (डीपी) अर्यालसँग शुक्रबार रास्वपाको पार्टी कार्यालयमा शिष्टाचार भेट गरेको छ । भेटवार्तामा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसी तथा कार्यसमिति सदस्य उत्तम भ्लोन सहभागी थिए ।

रास्वपा तथा नेपाल–भारत उद्योग वाणिज्य संघबिच नेपालमा प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने विषयमा छलफल केन्द्रित रहेको निकीले जनाएको छ ।

अध्यक्ष सुनील केसीले निकीले नेपाल र भारत वीचको दुईपक्षीय सेतुको भूमिका र नेपाल–भारत आर्थिक सहकार्य प्रवद्र्धनका गतिविधिहरू प्रस्तुत गरे । उनले निकीको प्राथमिक उद्देश्य नेपालमा लगानीको अभाव पूर्ति गर्न विदेशी लगानी विशेष गरी भारतबाट आकर्षित गर्ने रहेको बताए ।

साथै, नेपालमा विदेशी लगानी आकर्षित गर्न तथा लगानीको सुरक्षाका लागि नीतिगत संरचनामा समस्या रहेको उल्लेख गर्दै प्रमुख नीतिगत सुधार आवश्यक रहेकोमा पनि अध्यक्षले जोड दिए । मुख्यरूपमा बौद्धिक सम्पत्ति अधिकार, केही निश्चित क्षेत्रमा नाफा फिर्ता, दक्षिण एसियाली क्षेत्रमै उच्च रहेको ३९% सम्मको आयकर, तथा व्यवस्थापन शुल्कसम्बन्धी नीतिमा सुधार आवश्यक रहेको केसीले बताए ।

कार्यसमिति सदस्य एवं स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका उपाध्यक्ष समेत रहनु भएका उत्तम भ्लोन लामाले उक्त अवसरमा नेपालका ऊर्जा नीतिहरू र ऊर्जा व्यापारका अवरोधहरूबारे प्रकाश पारे । उनले निजी क्षेत्रलाई नीतिनिर्माण प्रक्रियामा समावेश गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिए, जसले गर्दा ऊर्जा लगानी र व्यापारका लागि अनुकूल वातावरण सिर्जना गर्न सकिन्छ ।

सोक्रममा राष्ट्रिय स्वतन्त्र पार्र्टीका कार्यवाहक सभापति तथा सांसद अर्यालले नेपालमा मानव स्रोत, अवसर र विकासका लागि पर्याप्त सम्भावना रहेको बताए । उनले सुशासन र भ्रष्टाचारमुक्त व्यवस्था अनिवार्य रहेकोमा जोड दिँदै, लगानीमैत्री वातावरण निर्माणका लागि सुधार आवश्यक रहेको पनि बताए । साथै, निजी क्षेत्रको नीतिनिर्माण प्रक्रियामा संलग्नता आवश्यक रहेकोमा बल दिँदै, निजी क्षेत्रको सुरक्षा र कानूनी संरक्षणका लागि उचित नीति निर्माणमा आफनो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।

बैठक सकारात्मक वातावरणमा सम्पन्न भयो, जसमा दुवै पक्षले नेपालका आर्थिक मुद्दाहरू सम्बोधन गर्न निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरियो ।