सबस्टेशनमा आगलागीपछि बेलायतको हीथ्रो एयरपोर्ट बन्द, १३ सय उडान प्रभावित

308
Shares

तस्बिर: गेट्टी इमेज

एजेन्सी । बेलायतको लन्डनस्थित हीथ्रो विमानस्थल नजिकै रहेको एक विद्युत् सबस्टेशनमा लागेको आगोका कारण शुक्रबारभर बन्द रहने भएको छ।

बेलायतको सबैभन्दा व्यस्त विमानस्थल हीथ्रोले यात्रुहरूलाई पुनः खुल्ने समयसम्म ‘कुनै पनि हालतमा यात्रा नगर्न’ आग्रह गरेको छ ।

पश्चिम लन्डनमा रहेको सो विद्युत् सबस्टेशनमा बिहीबार राति लागेको आगलागीका कारण हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने वरपरका १५० जना मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

आपत्कालीन सेवाहरूलाई स्थानीय समयअनुसार राति ११:२३ बजे घटनास्थलमा बोलाइएको थियो। सामाजिक सञ्जालहरूमा सेयर गरिएका भिडियोहरूमा सबस्टेशनबाट ठूलो ज्वाला र बाक्लो धुवाँ निस्किरहेको देखिन्छ ।

शुक्रबार हीथ्रो हुँदै ओहोरदोहोर गर्ने कम्तीमा १ हजार ३५१ उडानहरू प्रभावित हुने उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले एक्स (पहिलेको ट्विटर) मा जनाएको छ । विमानस्थल बन्द घोषणा हुँदा १२० विमान आकाशमै थिए ।

लन्डन दमकल विभाग (एलएफबी) का अनुसार सबस्टेशनमा रहेको ट्रान्सफर्मरको एक भाग अझै पनि जलिरहेको छ । आगलागीको कारण भने अझै पत्ता लागेको छैन।

आगलागी नियन्त्रण गर्न १० वटा दमकल र करिब ७० जना दमकलकर्मी परिचालित गरिएको एलएफबीले जनाएको छ ।

सुरक्षाका लागि २०० मिटरको घेरा हालिएको छ भने स्थानीय बासिन्दाहरूलाई अत्यधिक धुवाँका कारण झ्यालढोका बन्द गर्न सल्लाह दिइएको छ ।

दमकल विभागले वरपरका २९ जना मानिसलाई सुरक्षित स्थानमा सार्न सफल भएको जनाएको छ।

एलएफबीका सहायक आयुक्त प्याट गोल्बर्नले भने,’हामीले आगलागी नियन्त्रण गर्न राम्रो प्रगति गरेका छौँ र थप फैलावट रोक्न सफल भएका छौँ ।’

बिहान हुन थालेसँगै अवरोध झन् बढ्ने भएकाले सो क्षेत्रमा नजान अनुरोध गरेको उनले बताए ।

ऊर्जा आपूर्तिकर्ता स्कटिश एण्ड सदर्न इलेक्ट्रिसिटी नेटवर्क्सका अनुसार आगलागीका कारण १६ हजार ३०० भन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।

एलएफबीले केही क्षेत्रमा भने पुनः बिजुली आपूर्ति हुन थालेको जनाएको छ ।

स्कटिश एण्ड सदर्न इलेक्ट्रिसिटी नेटवर्क्सले एक्समा लेखेको छ, ‘हामी हायस, हाउन्सलो र वरपरका क्षेत्रमा व्यापक रूपमा विद्युत् आपूर्ति बन्द भएको जानकारीमा छौँ ।’

हीथ्रो विमानस्थलका प्रवक्ताले भने, ‘हाम्रा यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै २१ मार्च २०२५ राति ११:५९ सम्मका लागि विमानस्थल बन्द गर्नुपर्ने बाध्यता छ ।’

यसले यात्रुहरूलाई असुविधा पुर्‍याउने भएकाले हामी क्षमा चाहन्छौँ। हामी सकेसम्म चाँडो समस्याको समाधान गर्न लागिपरेका छौँ ।

दमकलकर्मीहरू अझै आगलागी नियन्त्रणमा खटिरहेका छन्, त्यसैले विद्युत् आपूर्ति कहिले स्थिर रूपमा पुनः सुरु हुन्छ भन्ने स्पष्ट नभएको प्रवक्ताको भनाइ छ ।

हीथ्रो विमानस्थलले यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गरेर थप जानकारी लिन सल्लाह दिएको छ।

हीथ्रो बेलायतकै सबैभन्दा ठूलो विमानस्थल हो जहाँ दैनिक करिब १ हजार ३०० उडान सञ्चालन हुन्छन् । गत वर्ष मात्रै ८३.९ मिलियन यात्रुहरूले यो विमानस्थल प्रयोग गरेका थिए ।

अमेरिकी एयरलाइन्स युनाइटेड एयरलाइन्सका सात उडानहरू फिर्ता गरिएका वा अन्य विमानस्थलमा मोडिएका छन् ।

अष्ट्रेलियन एयरलाइन्स कान्टासले पनि लन्डनका लागि उडेका दुई उडानहरू पेरिसतर्फ मोडिएको जनाएको छ।

बीबीसी पत्रकार थोमस म्याकिन्टोसकाअनुसार केही स्कटिश फुटबल समर्थकहरू एथेन्समा ग्रीसविरुद्धको खेल हेरेर बिहान सबेरै हीथ्रो फर्किन लागेका थिए ।

उनीहरू पासपोर्ट जाँच र सुरक्षा जाँच पार गरेर खाजाका लागि लाइनमा थिए त्यही बेला स्टाफले चिच्याउँदै भने, ‘हीथ्रोका सबै उडानहरू रद्द गरिएका छन् ।’

कारण सोध्दा विमानस्थलमा आगलागी भएकोले शुक्रबारका सबै उडानहरू रद्द भएको जानकारी दिइयो।

उनीहरूलाई ५० अन्य यात्रुसँगै पुनः पासपोर्ट जाँच गरी ग्रीस फर्काइयो ।

धेरै यात्रुहरू एडिनबरा, ग्लास्गो वा एबरडिन जान लन्डन हुँदै जाने योजनामा थिए । अहिले उनीहरू अन्य युरोपेली सहर हुँदै यात्रा पुनः बुक गर्न खोजिरहेका छन्, जसको लागत अनिश्चित छ ।

Skip This