
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् ।
शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए ।
अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको प्रचण्डको आरोप छ ।
‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरुको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’ उनले भने, ‘ लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरुलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनु भएको छ । उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने भएको छ ।’
२०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरे । उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने उनको भनाइ छ । सरकारमा हुँदा भ्रष्टाचारबिरुद्धको आन्दोलन छेडेको बताए । आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको बताए ।
प्रतिक्रिया