
विराटनगर । भारतले रात्रिकालीन विद्युत आपूर्ति बन्द गरेसँगै उद्योगमा सुरु भएको १२ घण्टा लोडसेडिङले औद्योगिक वातावरण चौपट भएको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले गुनासो गरेका छन् ।
उनीहरुले प्राधिकरणको अघोषित ६-८ घण्टा लोडसेडिङको माग भोग्दै आएका करिडोरका उद्योगमा १२ घण्टा लोडसेडिङ सुरु भएसँगै हरेक उद्योगले ७० प्रतिशत सम्म उत्पादन कटौतीगर्न बाध्य भएको बताएका छन् ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले बेग्लाबेग्लै विज्ञप्ती जारी गर्दै विद्युतको दीर्घकालीन समाधानका लागि नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन् ।
औद्योगिक क्षेत्रमा चरम विद्युत संकटले उद्योगको उत्पादन र व्यापारमा प्रत्यक्ष असर पुगेको छ । उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले दैनिक ६/८ घण्टा अघोषित लोडसेडिङ हुँदा करिडोरका हरेक उद्योगले ६० प्रतिशत सम्म उत्पादन कटौती गरेका थिए ।
पछिल्लो पटक दैनिक १२ घण्टा विद्युत आपूर्ति ठप्प भएपछि उद्योगले ७० प्रतिशत सम्म उत्पादन कटौती गरेर उद्योग कछुवाको गतिमा सञ्चालन गरेका छन् ।
‘दैनिक १२ घण्टे लोडसेडिङले औद्योगिक उत्पादन मात्र नभएर मुलुकको समग्र अर्थतन्त्रमै नकरात्मक असर परेको छ । विद्युत आपूर्ति नहुँदा उत्पादन लागत बढ्दो छ । बजारको माग धान्ने स्थितीपनि छैन । राठीले भने यसले कालो बजारीलाई प्रोत्साहन गर्ने पक्का छ,’ नेपाल उद्योग परिसंघका कोशी अध्यक्ष पवनकुमार सारडाले भने, ‘औद्योगिक क्षेत्रमा सुरु भएको १२ घण्टो लोडसेडिङले उद्योगीलाई निराश वनाएको र यसले समग्र मुलुकको औद्योगिक वातावरण धराशायी बनेको छ ।’
विगत ६–७ वर्षदेखि विद्युत प्राधिकरण्को असान्दर्भिक र अव्यावहारिक नीतिका कारण औद्योगिक क्षेत्र धराशायी भएको र यसलाई सुधार गर्न उद्योगी व्यवसायिले पटक पटक अनुरोध गर्दा कुनै सुधार नभएको उनीहरुको गुनासो छ ।
अहिले ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणको टकराव र समन्वयको अभावमा दैनिक भइरहेको १२ घण्टे लोडसेडिङले औद्योगिक क्षेत्र थप धराशायी बनेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
औद्योगिक करिडोरमा हजारौ कामदारलाई रोजगारी उपलब्ध गराइ रेका उद्योगमा विद्युत अवरुद्ध हुँदा उद्योगको उत्पादन बन्द हुने र उद्योगका मजदुर कर्मचारी कामविहिन बनेका छन् ।
‘उनीहरुको रोजगारी नै गुम्ने स्थिती आउँदा सडकमा उत्रिने स्थिती छ । एकातिर आर्थिक मन्दिले उद्योग र व्यापार धराशायीको अवस्थामा छ,’ सारडाले भने, ‘अर्कातिर दैनिक १२ घण्टा लोडसेडिङ गरेर औद्योगिक वातावरण नै जोखिममा परेको छ ।दयसको सम्पूर्ण जिम्मेवारी सरकार र विद्युत प्राधिकरण लिनु पर्छ ।’
त्यसैगरी उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले १२ घण्टे लोडसेडिङले औद्योगिक वातावरण नै चौपट भएको भन्दै विद्युत आपूर्तिको दीर्घकालीन समाधान खोज्न विद्युत प्राधिकरणलाई आग्रह गरेका छन् ।
उद्योगीहरुका अनुसार सरकारले विकास खर्च गर्न नसक्दा आर्थिक मन्दीलाई मद्दत पुर्याएको छ । औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ गरेर औद्योगिक क्षेत्र र आर्थिक गतिविधिलाई नै चौपट बनाएको छ । यही अवस्था कायम रहे अधिकाँश उद्योग बन्दको संघारमा पुग्ने उनीहरुको गुनासो छ ।
प्रतिक्रिया