
एजेन्सी । एलन मस्कले अमेरिकी सरकारमा ठूलो र विवादास्पद भूमिका खेल्न थालेसँगै टेस्ला गाडीका मालिकहरूमाथिको दुर्व्यवहार र सोरुम तथा गाडीहरूमा तोडफोड गर्ने घटनाहरू बढ्दै गएका छन् । सम्भवत, यही कारणले अमेरिकामा प्रयोग गरिएका टेस्ला गाडीहरूको सकेन्ड ह्याण्ड बिक्री मूल्यमा तीव्र गिरावट आएको छ र तिनमा ग्राहकहरूको चासो घटेको छ ।
टेस्लाले राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाए पनि निर्वाचनको दिनदेखि कम्पनीको सेयर मूल्यले आर्जन गरेका सम्पूर्ण लाभ गुमाइसकेको छ ।
कम्पनीले गत वर्ष पहिलो पटक विश्वव्यापी रूपमा बिक्रीमा गिरावट भोग्नुपर्यो । चीनमा कडा प्रतिस्पर्धा झेलिरहेको छ र युरोपमा बिक्री घटिरहेको छ । अमेरिका भित्रै, टेस्लाका सीईओ मस्कलाई संघीय सरकारले खर्च कटौती गर्न लिएका उनका कदमहरूको आलोचना भोग्नु परिरहेको छ ।
यद्यपि टेस्लाका सेकेन्डह्याण्ड गाडीहरू अहिले ऐतिहासिक रूपमा सस्तो मूल्यमा उपलब्ध छन् । अमेरिकी राष्ट्रपतिले टेस्लाको प्रचार गरे पनि तिनीहरूलाई किन्ने ग्राहकहरू भेट्टाउन कठिन भइरहेको छ ।
कार्स डट कमको मार्च महिनाको एक सर्वेक्षण अनुसार प्रयोग गरिएका टेस्ला खोज्ने संख्यामा १६ प्रतिशत गिरावट आएको छ । जबकि टेस्लाबाहेकका विद्युतीय गाडीहरू प्रतिमाग गत वर्षको तुलनामा २८ प्रतिशतले बढेको छ।

यो मात्र इन्टरनेट खोजीमा देखिएको परिवर्तन होइन । कार किनबेच गर्ने साइट कारगुरुसका अनुसार सेकेन्ड ह्याण्ड टेस्लाको मूल्य औसत प्रयोग गरिएको कारको मूल्यभन्दा दोब्बर गतिमा घट्दैछ । सबैभन्दा नराम्रो अवस्था सायबरट्रकको छ, जसको सेकेन्ड ह्याण्ड मूल्य पहिलो मूल्यभन्दा ५८ प्रतिशतले घटिसकेको छ ।
टेस्लाका गाडी बेच्न चाहने मालिकहरूलाई उपयुक्त मूल्यमा ग्राहक पाउन झन् गाह्रो भइरहेको छ । केही टेस्ला मालिकहरूले तोडफोड तथा मस्कविरुद्ध भइरहेको विरोध प्रदर्शनका कारण आफ्नो गाडी बेच्न चाहेको बताएका छन् ।
‘म उपयुक्त मूल्य पाए तुरुन्तै मेरो टेस्ला बेच्थेँ, तर त्यो सम्भावना कम छ,’ उत्तरी क्यालिफोर्नियाकी पाम पर्किन्सले सीएनएनसँग भनिन् ।
ओहायोकी जेनिफर ट्रेबले केही हप्ता अघि आफ्नो टेस्ला मोडल वाई साटफेर गरिन्। जसबाट उनलाई १८ हजारदेखि २० हजार डलरसम्मको घाटा भयो ।
‘मेरो टेस्ला केवल दुई वर्ष मात्र किनिएको थियो । त्यो पनि १० हजार माइल मात्र चलेको थियो, तर यसको मूल्य अत्यधिक घट्यो,’ उनले भनिन् । मस्कको सरकारमा खेलिरहेको भूमिकाले ‘मेरो नैतिक मूल्यहरू, विश्वासहरूसँग मेल खाँदैन। हरेक पटक गाडी हेर्दा म त्यसैको सम्झनामा अल्झिन्थेँ ।’

किन आयो गिरावट ?
मस्कका राजनीतिक गतिविधिहरूले अमेरिकामा नयाँ टेस्ला बिक्रीमा कति असर परेको छ भन्ने यकिन गर्न अझै समय लाग्छ । प्रयोग गरिएका टेस्ला बिक्रीमा गिरावट आउनुका विभिन्न कारणहरू हुन सक्छन् ।
हालसम्म टेस्लाका गाडी तथा सोरुमहरूमाथि भएका आक्रमणहरू र बिक्रीमा आएको गिरावटबीच प्रत्यक्ष सम्बन्ध पुष्टि भइसकेको छैन । कम्पनीलाई भ्यानकुभर अटो शोबाट सुरक्षाका कारण निकालिएको थियो ।
एस एन्ड पी ग्लोबल इन्डेक्सले बिक्रीको आँकडालाई ‘रेड स्टेट’ (ट्रम्प समर्थित राज्य) र ‘ब्लु स्टेट’ (डेमोक्रेट समर्थित राज्य) मा वर्गीकृत गरेर विश्लेषण गर्यो। यस अनुसार डेमोक्रेटहरू बलियो भएका ब्लु स्टेटहरूमा टेस्लाप्रति ग्राहकहरूको निष्ठा घटेको छ । २०२३ को अन्त्यमा ७२ प्रतिशत रिपिट टेस्ला ग्राहक रहेकोमा २०२४ मा घटेर ६५ प्रतिशत मात्र रह्यो । रेड स्टेटहरूमा भने टेस्ला दोहोर्याएर किन्ने ग्राहकहरूको प्रतिशत ४७.६ प्रतिशतबाट ४८.२ प्रतिशत पुगेको छ।
मस्कका प्रमुख राजनीतिक समर्थक डोनाल्ड ट्रम्प र उनको प्रशासन टेस्लाको ब्रान्ड जोगाउन सक्रिय देखिन्छन् ।
यसै महिनाको सुरुमा ट्रम्पले ह्वाइट हाउसको साउथ लनमा पत्रकारहरूलाई सम्बोधन गर्दै टेस्लाको ‘डिफ्याक्टो विज्ञापन’ गरे । उनले टेस्ला पूरै मूल्य तिरेर किन्न तयार रहेको बताए । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले टेस्लामाथिका आक्रमणहरूलाई ‘घरेलु आतंकवाद’ भनेकी छिन् भने ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले ‘डेमोक्रेटहरू पहिले टेस्लाका ठूला समर्थक थिए, तर जब एलन मस्कले ट्रम्पलाई मत दिने निर्णय गरे, उनीहरूले टेस्लालाई बहिष्कार गर्न थाले ।’
२०२४ को मे महिनामा उच्च चासो पुगेको टेस्ला ब्रान्डमा पछिल्लो गर्मीदेखि माग घट्न थालेको हो । कार्स डट कमका विश्लेषक डेभिड ग्रिनका अनुसार यसको कारण प्रयोग गरिएको टेस्ला गाडीहरूको संख्या बजारमा बढ्नु हो ।
टेस्लाको लोकप्रियता घट्नुको एउटा प्रमुख कारण राजनीति नभएर प्रतिस्पर्धा पनि हो । कार्स डट कमका अनुसार २०२३ को फेब्रुअरीमा बजारमा ५८ वटा विद्युतीय गाडी मोडल उपलब्ध थिए जुन २०२४ मा बढेर ७६ पुगेको छ।
‘टेस्ला अहिले तिनै गाडीहरूसँग प्रतिस्पर्धा गर्दैछ, जसले विद्युतीय गाडी बजार निर्माण गर्न मद्दत गरेको थियो,’ अटो ट्रेडरका कार्यकारी सम्पादक ब्रायन मूडीले सीएनएनसँग भने ।
प्रयोग गरिएको गाडी बजार नयाँ गाडी बजारसँग सम्बन्धित हुन्छ । टेस्लाले नयाँ गाडीहरूको मूल्य घटाएपछि प्रयोग गरिएको गाडीको मूल्य पनि स्वतः घट्छ । ‘यदि कुनै गाडी व्यवसायीलाई प्रयोग गरिएको विद्युतीय गाडीहरू स्टकमा बाँकी छ भने, उनले नयाँ मूल्य घट्दा पुरानो मूल्यमा बेच्न सक्दैनन्,’ ग्रिनले भने ।

साथै, प्रयोग गरिएका ७० प्रतिशत विद्युतीय गाडीहरू लिजमा रहेका थिए। यसको अर्थ एउटै समयमा ठूलो संख्यामा प्रयोग गरिएका टेस्ला गाडीहरू बजारमा आएका छन् ।
बिजुलीबाट चल्ने गाडीहरूको मूल्य औसत पेट्रोल कारभन्दा ११ प्रतिशत छिटो घट्ने गर्छ । मूडीका अनुसार ग्राहकहरू विद्युतीय गाडीलाई यातायातको साधनभन्दा बढी प्रविधि उत्पादनको रूपमा हेर्छन् । त्यसैले, ब्याट्रीको स्वास्थ्य, नयाँ अपडेट छुट्न सक्ने डर आदि कारणले ग्राहकहरू सचेत रहन्छन् ।
‘टेस्लासँग अहिले धेरै समस्या छन् त्यसैले कुनै एउटै कारणले मात्र बजार खस्किएको हो भन्न सकिँदैन,’ मूडीले भने ।
सीएनएनबाट
प्रतिक्रिया