
काठमाडौं । गत आइतबारदेखि देशमा सञ्चालित उद्योगहरूले दैनिक १२ घण्टा लोडसेडिङ बेहोर्न थालेपछि निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको छ । नेपाल विद्युत प्राधिकरणले बिजुलीको माग र आपूर्तिबीच सन्तुलन मिलाउन नसक्दा देशमा औद्योगिक वातावरण नै बिथोलिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, मोरङ उद्योग संगठनले औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति चिन्ता व्यक्त गरेका हुन् ।
पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारी बिना विद्युत कटौती गरिएको छ । महासंघले यस्तो घटना प्रति गम्भीर चिन्ता व्यक्त गर्दै १२ घण्टा लोडसेडिङले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पुर्याएको ठहर गरेको छ ।
लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन् । नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याइरहेको छ, जसका कारण उत्पादनमा भारी गिरावट आएको छ ।
त्यसैगरी, बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पुर्याई मर्मत, सम्भार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेका छन् । यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना छ ।
महासंघले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ । साथै, दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन आग्रह गरेको छ ।
नेपाल उद्योग परिसंघले अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उद्योगलाई नियमित विद्युत आपूर्ति हुने व्यवस्था तत्काल गर्न परिसंघले सरकार एवं सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
केही समय अगाडि पनि उद्योगहरुमा लोडसेडिङ गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको थियो । उद्योगहरुमा विद्युत उपलब्ध नगराउँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको छ ।
उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको परिसंघको दाबी छ । यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भिर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भिर भएर सोच्नुपर्ने गरी सशंकित बनाएको छ ।
सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको हो ।
विद्युत कुनै पनि उद्योगहरुका लागि कच्चा पदार्थ विद्युत भएको भन्दै कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव नहुने परिसंघको भनाइ छ । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधान गर्न माग गरेको छ ।
गत पुसदेखि अघोषित रुपमा दैनिक ६ घण्टासम्म मोरङ औद्योगिक करिडरले लोडसेडिङको मार खेप्नु परिरहेको थियो, थप लोडसेडिङले थप लोडसेडिङ हुँदा त्यस क्षेत्रका औद्योगिक क्षेत्र धरासायी हुने संगठनको भनाइ छ ।
संगठनले लोडसेडिङको समस्या तत्काल समाधान गर्न सरकारसँग मागसमेत गरेको छ ।
‘भारतबाट आयात कटौती भई विद्युत आपूर्ति अवरुद्ध हुने जस्तो कुराले उद्योगी व्यवसायीहरुलाई आश्चर्य चकित मात्रै बनाएको छैन,’ संगठनले भनेको छ,‘विद्युत आपूर्तिको दिर्घकालिन व्यवस्थापन गरी समस्या समाधानका लागि कुनै ठोस पहल र प्रयास नभएकोमा चिन्तित समेत तुल्याएको छ ।’
आफ्नै मुलुकमा प्रचुरमात्रामा जलस्रोत भएपनि लोडसेडिङको समस्या समाधान गर्न सरकारले दीर्घकालिन उपाय कार्यान्वयनमा नल्याउँदा उद्योगीहरु बर्षेनी यस्ता समस्याबाट प्रताडित हुन पुगेको संगठनको भनाई छ ।
प्रतिक्रिया