
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति चिन्ता व्यक्त गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारी बिना गरिएको विद्युत कटौतीप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।
१२ घण्टा लोडसेडिङले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पुर्याएको महासंघको ठहर छ ।लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन् । नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको
निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याइरहेको छ, जसका कारण उत्पादनमा भारी गिरावट आएको छ ।
त्यसैगरी, बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पु¥याई मर्मत, संभार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेका छन् । यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना रहेको महासंघको बुझाइ छ ।
यस परिप्रेक्ष्यमा, नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
साथै, दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया