
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले साँझको पीक समयमा २३० मेगावाट बिजुली पठाइदिन पत्राचार गरेका छन् ।
मन्त्री खड्काले परराष्ट्र मन्त्रालयबाट काठमाडौंस्थित भारतीय दूतवासबाट भारत सरकारलाई औपचारिक आग्रह गरेका हुन् । साँझ ६ बजेदेखि १० बजेसम्म २३० मेगावाट बिजुली पठाइदिन पत्रमा अनुरोध गरिएको छ । दैनिक २० घण्टासम्म करिब ६०० मेगावाट बिजुली आयात गरेर आन्तरिक माग पूरा गरिरहेको नेपाललाई मार्च १५ तारिखदेखि भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजे) सम्म मात्रै बिजुली आयात अनुमति दिएको छ । सोलार आवरमा मात्रै बिजुली आयात भएका कारण अहिले उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।
ऊर्जा मन्त्री खड्काले उद्योगहरुमा लोडसेडिङ भएको र यसले अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको भन्दै भारतलाई बिजुली पठाइदिन आग्रह गरेका हुन् । बुधबार मन्त्री खड्काले राष्ट्रिय सभामामा लोडसेडिङ अन्त्यको घोषणा भए पनि उद्योगमा लोडसेडिङ भइरहेको र अब घरायसीमा समेत लोडसेडिङ हुने बताएका थिए ।
भारतले यसअघि नै आयातको स्वीकृति दिँदा शर्त राखेको थियो । भारतले मार्च १५ तारिखदेखि जुन ३० सम्म सोलार आवरमा मात्रै बिजुली दिने शर्त राखेको हो ।
नेपाल र भारतबीच फेब्रुअरीमा प्रोजेक्ट स्टेयअरिङ कमिटी (पीईसी) को बैठक बसेको थियो । उक्त बैठकमा भारतले मार्च १५ तारिखदेखि जुन ३० तारिखसम्म सोलार आवरमा मात्रै बिजुली दिने प्रस्ताव गरेको हो । साथै उक्त बैठक २०२५/२६ का लागि विद्युत महशुल दर समेत तोकेको छ । सोही बैठकले नेपालले चाहेका बेला आयात गर्दा तिर्नुपर्ने दर तोकेको हो । निर्यात गर्दा समेत उक्त दर लागु हुने दाबी गरिएको छ ।
नयाँ दरअनुसार सन् २०२५ को अप्रिलबाट २०२६ को मार्च सम्मका लागि १३२, ३३ र ११ केभी प्रसारण लाइनमार्फत आदान/ प्रदान गरिने विद्युतको प्रतियुनिट दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारतीय रुपैयाँ तय गरिएको थियो । विगतका वर्षहरुमा औसतरुपमा ५.५ प्रतिशत मूल्य वृद्धि हुने गरेकोमा यस वर्षको बैठक सन् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मका लागि तय गरिएको दरमा १.५ प्रतिशत मात्र बृद्धि हुने व्यवस्था गरिएको छ ।
आवश्यक परेमा मात्र यस सम्झौता बमोजिम सुक्खायामका महिनाहरुमा मुख्यरुपमा साँझ ४ बजेदेखि राति ९ बजेसम्म, र भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धा गरी विद्युत आयात स्वीकृति नभएको अवधिमा मात्र आयात गरिने प्राधिकरणले जनाएको छ । आवश्यकता अनुसार विद्युत आयात गर्नुपर्दा मात्र उक्त दर तिर्नु पर्नेछ ।
उक्त दर नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिबाट अनुमोदन र विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि मात्र लागू हुनेछ । यसबारेमा निर्णय गर्न दुवै निकाय सक्षम छन् ।
सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत भए पश्चात अप्रिल २०२५ देखि मात्र तय गरिएको नयाँ दर लागू हुनेछ । सञ्चालक समितिको बैठक राख्न खोज्दा विगत लामो समयदेखि बैठक बस्न सकिरहेको छैन । यदि सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नहुने अवस्था आएमा विद्युत आदान प्रदान सम्झौता बमोजिम विद्युत आयात हुँदैन । यहि विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरणसमेत सोधेको छ।
महँगोमा बिजुली किन्ने निर्णय गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो । मन्त्रिपरिषद्को स्वीकृति लिएर सहमति गरेको भएपनि मन्त्रालयले अनुमति नै नलिई महँगोमा बिजुली किन्न लागेको भन्दै स्पष्टीकरण सोधेको छ । हाल बिहारको रक्सौल-परवानीपुर र उत्तर प्रदेशको मैनहिया-सम्पत्तिया १३२ केभी प्रसारण लाइनबाट पिक समयमा दैनिक करिब १९० मेगावाट विद्युत आयात गरिएको छ । अन्य समयमा भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धाबाट विद्युत आयात हुँदै आएको छ ।
हरेक वर्ष विद्युत आयात गर्न अनुमति नवीकरण गर्नुपर्छ । यसपटक भने अनुमति नवीकरण गर्न आनाकानी गरेर भारतले म्याद सकिनु तीन दिन पहिले अर्थात् २०८० चैत १५ गते मात्रै नवीकरण गरिदिएको हो । एक वर्षका लागि नवीकरण गर्नुपर्ने भएपनि ३ महिनाका लागि अनुमति नवीकरण गरिदिएको हो ।
नेपालको अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । कुलेखानी १०० मेगावाटबाहेक नेपालमा जलाशययुक्त जलविद्युत् आयोजना छैन । करिब ३५०० मेगावाट जडित क्षमता पुगे पनि गएको हिउँदमा आन्तरिक माग पूरा ६०० मेगावाट आयात गरिएको थियो ।
प्राधिकरणका अनुसार हिउँदमा १६०० मेगावाट बिजुलीको औसत माग छ । हिउँदमा १००० मेगावाटभन्दा कम आन्तरिक उत्पादन हुन्छ ।
सरकारले २०७५ बैशाख ३१ गते लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो । लोडसेडिङ अन्य भएको ६ वर्षपछि दैनिक १२ घन्टा लोडसेडिङ हुने भएको हो ।
प्रतिक्रिया