
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने कार्यसूची रहेको छ ।
यस बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यसैगरी, अर्थमन्त्री पौडेलले सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछन्। साथै, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
यस्तै, अर्थमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि राख्ने छन् । साथै, ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै, सोही विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री पौडेलले उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनसमक्ष प्रस्तुत गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया