एक करोड बढीको कारोबार गर्दै सकियो २६ औं पुष्प मेला


काठमाडौं । भृकुटीमण्डपमा शुक्रबारदेखि जारी २६ औँ फ्लोरा एक्स्पो सोमबार सम्पन्न भएको छ ।

चौथो दिनसम्म एक करोड १० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ । चौथो दिन मेलामा १० हजारभन्दा धेरैले अबलोकन गरेका थिए । अन्तिम दिनमात्र २१ लाख ८० हजार रुपैयाँबराबरको कारोबार भएको आयोजक संख्या फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) का वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले बताए ।

मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटासहित ८३ वटा स्टल राख्ने व्यवस्था गरिएको थियो ।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रबेश शुल्क तोकिएको र जेष्ठ नागरिकको हकमा निःशुल्क प्रबेशको ब्यबस्था गरिएको थियो ।

एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भएको कार्यक्रम संयोजक तामाङले जानकारी दिए ।