
एजेन्सी । क्यारिबियन नेताहरूले अमेरिकी सरकारले क्युबाको चिकित्सा सुविधासँग जोडिएका वा समर्थन गर्ने व्यक्तिहरूको भिसा रद्द गर्ने धम्कीलाई जवाफ दिएका छन् । अमेरिकाले यसलाई ‘बलजफ्ती श्रम’ र क्युबाई शासनलाई समृद्ध बनाउने अभियान भनेर आरोप लगाएको छ ।
क्युबाको चिकित्सा अभियानहरू (मेडिकल मिसन)ले डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू पठाएर क्यारिबियन क्षेत्रको स्वास्थ्य प्रणालीलाई महत्त्वपूर्ण सहयोग गरेको छ । तर अमेरिकाको यस धम्कीले यस क्षेत्रको स्वास्थ्य सेवामा असर पार्ने छ ।
अमेरिकाले क्युबाको चिकित्सा कार्यक्रमलाई किन बनायो निशाना ?
डोनाल्ड ट्रम्प प्रशासनले क्युबाको चिकित्सा अभियानलाई निशाना बनाउने काम नयाँ होइन । सन् २०१७-२०२१ सम्म उनले क्युबाको वैश्विक चिकित्सा कार्यक्रममा भिसा प्रतिबन्ध लगाएका थिए । क्युबाई डाक्टरहरूलाई कम तलब दिइएको हुनाले यो ‘मानव तस्करी’ भएको अमेरिकी दाबी थियो ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाको चिकित्सा अभियानसँग जोडिएका सरकारी अधिकारी र अन्य व्यक्तिहरूको भिसा रोक्ने घोषणा गरेका छन् । अमेरिकी राज्य विभागले यो प्रतिबन्ध ‘हालका र पूर्व अधिकारी’ र तिनीहरूका परिवारलाई पनि लागू हुने बताएको छ । रुबियोले यसलाई ‘बलपूर्वक श्रम’ भनेका छन् र व्यापारिक प्रतिबन्धको पनि धम्की दिएका छन् । तर यी आरोपको समर्थनमा कुनै ठोस प्रमाण देखिएको छैन ।
अमेरिकाको आरोप छ-क्युबाले आफ्ना स्वास्थ्यकर्मीहरूको तलबको ठूलो भाग रोक्छ र उनीहरूको स्वतन्त्रतालाई सीमित गर्छ । केही डाक्टरहरूले यस कार्यक्रमबाट भागेर आलोचना गरे पनि धेरैले स्वेच्छाले सहभागी हुने बताएका छन् ।
अमेरिकी अर्थशास्त्री तमारिस बहामोन्डेले भनिन्-‘यो जटिल विषय हो । डाक्टरहरूको आवाजलाई केन्द्रमा राख्नुपर्छ । क्युबाका डाक्टरहरूले आफ्नो अनुबन्ध वा कामको अवस्था आफैं बारेमा कुरा गर्दैनन् । उनीहरूको तलबको ठूलो भाग क्युबाले लिन्छ । केही डाक्टरले पासपोर्ट जफत र परिवारलाई नलैजान दिने जस्ता समस्याको पनि उल्लेख छ ।’
तर उनले क्युबाई चिकित्सकहरूको भूमिका महत्त्वपूर्ण रहेको पनि जोड दिइन्, ‘क्युबाई डाक्टरहरू सुविधाविहीन समुदायको सेवामा अग्रणी छन् । मैले हवानामा काम गर्दा धेरै देशहरू उनीहरूप्रति कृतज्ञ देखेकी छु ।’
ट्रम्प प्रशासनले के गर्छ ?
अमेरिकी कानुनअनुसार विदेश मन्त्रालयले भिसा नीतिमा नियन्त्रण गर्न सक्छ । राष्ट्रिय सुरक्षा वा विदेश नीतिको आधारमा कांग्रेसको स्वीकृतिबिना पनि प्रतिबन्ध लगाउन सकिन्छ ।
तमारिस बहामोन्डेले भनिन्,’यो नीति ट्रम्प मात्र होइन । बाइडेन प्रशासनले पनि सन् २०२४ मा क्युबासँग चिकित्सा सेवा खरिद गर्ने देशहरूमा प्रतिबन्ध लगाएका थिए । यो मुद्दा दुबै राजनीतिक दलहरूको समान राय छ । ट्रम्पले भिसा प्रतिबन्ध लगाउन सक्छन् र यसमा ठूलो विरोध नहोला ।’
क्यारिबियन नेताहरूको प्रतिक्रिया
केही क्यारिबियन नेताहरू अमेरिकी भिसा छोड्न पनि तयार भएका छन् । बार्बाडोसका प्रधानमन्त्री मिया मोट्लीले संसदमा भनिन्,’यो अन्यायपूर्ण छ । कोभिड महामारीमा क्युबाई डाक्टर नभएको भए हामी सक्दैन थियौं । हामीले उनीहरूलाई उच्च तलबमा राखेकोमा हामीलाई ‘मानव तस्कर’ भनिएको छ । म आफ्नो अमेरिकी भिसा गुमाउन तयार छु ।’
सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सका प्रधानमन्त्री राल्फ गोन्साल्भेसले भने,’क्युबाई डाक्टर नभए ६० जना मर्न सक्छन् । म भिसा गुमाउनुभन्दा यो रोक्न चाहन्छु ।’ जमैकाका विदेश मन्त्री कमिना जोन्सन स्मिथले ४०० क्युबाई स्वास्थ्यकर्मी जमैकामा सक्रिय रहेको बताइन् ।
बहामासका विदेश मन्त्री फ्रेड मिचेलले क्युबाई कार्यक्रम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रहेको दाबी गरे । क्यारिकमका १५ विदेश मन्त्रीहरूले अमेरिकी प्रतिनिधिसँग यसको विरोध र नीति स्पष्टता मागेका छन् ।
क्युबाई चिकित्सा अभियान किन महत्त्वपूर्ण?
क्युबाले विश्वभरका ५६ देशमा २४ हजारभन्दा बढी डाक्टर पठाएको छ । क्यारिबियनमा गरिबी र स्वास्थ्य सुविधाको अभाव भएका देशहरूमा यी अभियान जीवनरक्षक छन् । तमारिस बहामोन्डेले भनिन्, ‘क्युबाई डाक्टर नभए धेरै देशहरूको स्वास्थ्य प्रणाली ध्वस्त हुनेछ । स्थानीय डाक्टरहरू प्रशिक्षणमा वर्षौं लाग्छ र तिनीहरूपनि विदेश पलायन हुन्छन् ।’
क्युबाई चिकित्सकहरूले प्राथमिक उपचार, आपतकालीन सेवा र विशेषज्ञ उपचार दिन्छन् । उनीहरूले प्राकृतिक प्रकोप (जस्तै चक्रवात, भूकम्प) र महामारी (जस्तै कोभिड-१९, हैतीको हैजा) को समयमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
क्युबाई चिकित्सकमा निर्भर हुने देशमा विभिन्न देश रहेका छन् ।
भेनेजुएलामा हजारौं क्युबाई डाक्टर सामुदायिक स्वास्थ्य केन्द्रहरूमा कार्यरत छन् । त्यस्तै ब्राजिलमा २०१८ सम्म ८ हजार क्युबाई डाक्टर काम गर्थे तर कूटनीतिक झगडापछि फिर्ता भएका छन् ।
त्यस्तै इटालीमा कोभिड-१९ महामारीमा क्युबाले डाक्टर पठाएको थियो । दक्षिण अफ्रिकाका ग्रामीण क्षेत्रहरूमा क्युबाई स्वास्थ्यकर्मीहरू सेवा गर्ने गरेका छन् ।
यसरी, क्युबाको चिकित्सा अभियानले विश्वभर निर्धन र सुविधाविहीन समुदायलाई जीवनदान दिँदै आएको छ । तर अमेरिकी प्रतिबन्धले यसको भविष्य अनिश्चित बनेको छ ।
अलजजिराबाट
प्रतिक्रिया