हप्तामा दुईपटक डण्डीको भाउ बढाएका उद्योगी भन्छन्: कार्टेलिङ होइन परिस्थितिको मागले मूल्य वृद्धि

मारमा सर्वसाधारण

1.4k
Shares

विराटनगर । किलोको ७८ देखि ८० रुपैयाँ मूल्य हुँदा मुलुकभरका स्टिल उद्योगीले गत फागुन तेस्रो साता अचानक टीएमटी डण्डीको अडर र बिक्रीसमेत रोकेर काठमाडौंमा भेला भए ।

उनीहरुले उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, उद्योग सचिव कष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्दबहादुर कार्की लगायतलाई भेटे । अनि दुई दिनसम्मको भेलाले किलोमा ४ रुपैयाँ मूल्य वृद्धि गरेर फलामे रडको अडर र बिक्री पाँच दिनपछि खुलाए ।

उद्योगीको आपसी सहमतिमा कायम भएको नयाँ मूल्य प्रतिकिलो ८२ र ८४ रुपैयाँमा फलामे रडको बिक्री सुरु भए लगत्तै उद्योगीहरुकै सहमतिमा टीमएटीको अडर र बिक्री दुई दिनपछि पुन: रोकियो । उद्योगीले फेरि किलोमा ४ रुपैयाँ मूल्य वृद्धि गरेर आइतबारदेखि बिक्री खुला गरेका छन् । उद्योगीले उत्पादन लागतका आधारमा बजारमा मूल्य बढ्नु र घट्नु स्वभाविक भएको बताए ।

प्रिमियर स्टिल उद्योगका सञ्चालक पवनकुमार सारडाले टीमएटी रडको मूल्य बढ्नु स्वभाविक भएको बताए ।

‘बजारमा कुनै पनि वस्तुको मूल्य तलमाथि भइरहन्छ । यो सामान्य कुरो हो,’ सारडाले भने, ‘टीमएटी रडको मूल्यमा पनि त्यही भएको हो ।’

उद्योगको उत्पादन लागत बढेको उनको भनाइ छ ।

पुरानै मूल्यमा उत्पादन बिक्री गर्दा उद्योग नै बन्द गर्नुपर्ने स्थिति आएपछि उद्योगलाई निरन्तरता दिन हरेक स्टिल उद्योगले उत्पादनको मूल्य वृद्धि गर्नुको विकल्प नभएको उद्योगीहरु बताउँछन् ।

‘रडको मूल्य कुनै समय किलोको १२० रुपैयाँ सम्म थियो । उत्पादन लागत घटेपछि रडको मूल्य किलोको ७८ रुपैयाँमा झरेको थियो,’ सारडाले भने,’ त्यही मूल्यमा अहिले डण्डी बिक्री गर्दा उद्योगलाई सहनै नसक्ने घाटा छ ।’

अहिले उत्पादन लागतमै प्रतिकिलो ५/६ रुपैयाँ घाटा रहेको उनको दाबी छ ।

सरकारले विकास खर्च गर्न नसक्दा र निर्माणका काम ठप्प हुँदा हरेक स्टिल उद्योगबाट उत्पादित सामग्रीको बिक्री अत्यन्त न्यून छ ।

‘एक त उत्पादन लागतमै प्रतिकिलो ५/६ रुपैयाँ घाटा छ । त्यसमा पनि विकास निर्माणका काम नहुँदा उत्पादित सामग्रीको बिक्री ठप्प जस्तै छ,’ उनले भने ।

विकास निर्माणका काम हुने र उत्पादित सामग्रीको बिक्री बढ्ने हो भने पुन मूल्य घटनु स्वाभिक हुने उनले बताए ।

‘फलाम उद्योगीको कार्टेलिङ होइन,’ सारडाले क्लिकमान्डुसँग भने, ‘यो मूल्य वृद्धि समय र परिस्थितिको माग मात्र हो । विकास निर्माणमा तिब्रता आए मूल्य घट्छ ।’

एक सातामै दुईपटक गरेर किलोमा ८ रुपैयाँको वृद्धिले उपभोक्ता भने मारमा परेका छन् । तर, यसबारे सरकारी निकाय मौन छन् ।

यसअघि सिमेन्ट उद्योगीले पनि गत मंसिरमा सिमन्टमा एकाधिकार जमाउँदै प्रतिबोरामा २५० रुपैयाँसम्म मूल्य बढाएका थिए ।

टीमएटी रड र सिमेन्टको मूल्य उद्योगीले बढाउँदा निर्माणकार्यमा रहेका उपभोक्ता मारमा परेका छन् ।

‘केही अघि सिमेन्टको मूल्य ह्वात्तै बढेको थियो,’ विराटनगर-४ मा घर बनाइरहेका देबेन्द्र सापकोटाले भने,’अहिले फेरि डण्डीको भाउ हप्तामै दुई पटक बढेको छ । अन्य सामग्रीहरुको भाउ पनि त्यसै अनुसार बढ्दा घर बनाउने लागत बढ्न गएको छ । सोचेको बजेटले निर्माण सम्पन्न गर्न समस्या भएको छ । यसरी मनलाग्दीसँग उद्योगले मूल्य बढाउँदा सरकार चुप लागेर बसेको छ।’

यसअघि तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले एमएस वायरको कच्चा पदार्थको भन्सार महसुल ५ प्रतिशतबाट १० प्रतिशत र अन्तशुल्क प्रतिटन २५०० बाट ४५०० बनाएपछि मुलुकमा सञ्चालित २२ वटै फलाम उद्योगी सडकमा उत्रिएका थिए । उद्योगीहरु आन्दोलित बनेपछि सरकार करमा परिमार्जन गर्न बाध्य भएको थियो । उद्योगीको आन्दोलनपछि सरकारले कच्चा पदार्थमा बढाएको भन्सार महसुल र अन्तशुल्क हटाएर तयारी वस्तुमा कर लगाएर उपभोक्ताको ढाड सेकेको थियो ।

कोशी प्रदेशमा पशुपति आइरन, प्रिमियर स्टिल, हुलास वायर, कमला रोलिङ मिल र स्वस्तिक रोलिङ मिल सञ्चालनमा छन् ।

मूल्य वृद्धिको कारण लोडसेडिङ ?

फलाम उद्योगमा दैनिक सरदर ८ घण्टा लोडसेडिङ छ । यसले उत्पादन लागत ह्वात्तै बढेको उद्योगीहरु बताउँछन् । जसका कारण प्रतिकिलो ५ रुपैयाँ घाटा रहेको उनीहरुको दाबी छ ।

‘किलोमा २५ पैसादेखि ५० पैसा नाफा बस्ने फलाम उद्योगमा किलोमै ५ रुपैयाँसम्म घाटा हुँदा उत्पादित सामानको मूल्य बढ्नु अनौठो होइन,’ अर्क एक उद्योगीले भने, ‘ लोडसेडिङले उद्योगमा उत्पादनको लागत बढेको छ, बजारमा माग पनि छैन । माग र आपूर्तिको खाडल छ ।’

उनले यस्तो अवस्थामा दुई/चार रुपैयाँ मूल्य बढ्दा उद्योगीहरुले कार्टेलिङ गरे भनेर नारा लगाउनु उपयुक्त नभएको तर्क गरे ।

‘बजारको माग र परिस्थितिका आाधारमा दुई/चार रुपैयाँ मूल्य बढनु र घटनु सामान्य हो,’ उनले भने, ‘औद्योगिक वस्तुको मूल्य बजारमा बढ्नु र घटनु सामान्य प्रक्रिया हो ।’