आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका फरार सचिव लामा पक्राउ


काठमाडौं । आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कुयाङछुयाङ दोर्जे लामा पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा फरार रहेका लामालाई काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

काठमाडौं महानगरपालिका–६ बस्ने बर्ष ४९ बर्षीय लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फागुन २८ गते काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो । लामालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाईएको कार्यालयका एसपी तथा सूचना अधिकारी काजी कुमार आचार्यले बताए ।

बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त मालिगाउँ काठमाडौंमा मुद्दा चलेको थियो । लामाको बिगो ४ करोड ९ लाख २७ हजार १३७ रुपैयाँ रहेको छ ।

उक्त सहकारी ठगी प्रकरणमा संथाका अध्यक्ष केबी उप्रेती २०८१ असार १९ गते पक्राउ परेका छन् । यो सहकारी ठगीमा अन्य उपाध्यक्ष मनोज कुमार थापामगर लगायत दर्जनौ व्यक्ति अझै फरार रहेका छन् । विभिन्न ५ वटा सहकारी मर्ज भएर आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।

मर्ज हुनुअघिका सबै सञ्चालक तथा पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पक्राउ परेका लामा आईडियल यमुना बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा मर्ज भएर बनेको संस्थाका सचिव हुन् ।

आईडियल यमुना बहुउद्देश्यीय सहकारी तथा आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष प्रजुल कुमार गुरुङ, आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य प्रकाशमान शाही खड्गी, तत्कालीन आईडियल यमुना सहकारीका उपाध्यक्ष श्रवण कुमार राई फरार रहेको प्रहरीले जनाएको छ ।

तत्कालीन नागरिक कल्याण बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा आईडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक हस्त रावत, सदस्य गोपिनाथ घिमिरे, तत्कालीन घेदुङ बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष तथा आईडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्था लेखा सुपरीवेक्षक समितिका संयोजक कुमार सिंह घिसिङ, लेखा समिति सदस्य बद्री महत, लेखा समिति सदस्य राम प्रसाद श्रेष्ठ, सदस्य महित कुमार तामाङ फरार रहेको प्रहरीको भनाइ छ । केबी उप्रेती अध्यक्ष रहेको आइडियल यमुना सहकारीमा साढे ५ अर्ब अपचलन भएको छ ।

त्यस्तै घेदुङ बहुउद्देश्यीय सहकारीका तत्कालीन अध्यक्ष मोहन कुमार तामाङ, कोषाध्यक्ष रुप बहादुर योन्जन, सदस्यहरु बेली लामा, सिता लामा गोले, रामकृष्ण लामा फरार रहेका छन् ।

उनीहरुले ५६ बचतकर्ताको ९ करोड ९४ लाख ७३ हजार ५१५ रुपैयाँ ठगी गरेको आरोप छ ।

यस्तै आईडियल यमुना सहकारी संस्थाका सचिव सुरज ब्यन्जनकार,सञ्चालकहरु राधा देवी राई र धन श्रेष्ठ तथा सदस्य गोपाल प्रसाद ढकाल फरार रहेका छन् । आईडियल यमुना सहकारी संस्थाले मात्रै ८६० बचतकर्ताको ४० करोड १३ लाख ८१ हजार ३८८ रुपैयाँ ठगेको आरोप छ।

यस्तै तत्कालीन नागरिक कल्याण बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष विमा महर्जन, सचिव भीमसेन बहादुर तामाङ, कोषाध्यक्ष विमल थापा तथा सदस्यहरु शोभा अर्याल, ज्ञान सिंह लुवार, र दिनेश रावत फरार रहेका छन् ।

नागरिक कल्याण बहुउद्देश्यीय सहकारीले ११० जना बचतकर्ताको ३१ करोड ५६ लाख ३८ हजार ५२१ रुपैयाँ ठगेको छ ।

सहकारी ठगीमा कृष्ण बहादुर उप्रेती, मनोज कुमार थापामगर, कुयाङ छुयाङ दोर्जे लामा, प्रजुल कुमार गुरुङ, प्रकाशमान शाही खड्गी, श्रवण कुमार राई, हस्त रावत, गोपीनाथ घिमिरे, कुमार सिंह घिसिङ, बद्री महत, राम प्रसाद श्रेष्ठ, महित कुमार तामाङ, सुरज ब्यञ्जनकार, गोपाल प्रसाद ढकाल, राधा देवि राई, धन श्रेष्ठ लगायतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सबैलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ बिपरीत सोही दफाको उपदफा २ बमोजिमको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा ३ को खण्ड ‘ग’ बमोजिम सजाय माग दाबी गरिएको छ । संहिताको दफा २४९ को उपदफा ३ को खण्ड ‘ग’ मा ७ वर्ष कैद र ७० हजार जरिवाना लाग्ने व्यवस्था रहेको छ ।