
काठमाडौं । होलीको अवसरमा कुनै पनि बहानामा मादक र लागुपदार्थ सेवन गरी सवारी साधनमा चलाउनेमाथि प्रहरीले आज बिहानैदेखि कडाइ गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवनकर्ता (मापसे) भन्दा लागु औषध सेवनकर्ता ९लापसे० बाट हुने दुर्घटनालाई ध्यानमा राखेर सवारी साधनलाई विशेष निगरानीमा राखेर कडाई गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिने गरी कडाई गरिएको छ ।
होली पर्वको अवसरमा मानिसहरुले उच्छृंखल गतिविधि गर्ने, जथभाबि लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा चेकिङ पोष्ट राखिएको छ ।
होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ । होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा प्रहरीले सीसीटीभी र ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।
उनका अनुसार आज चिट काट्नुभन्दा सवारी साधन नै नियन्त्रणमा लिने गरी विशेष निगरानीसहित अभियान सुरु गरिएको छ ।
उपत्यकाका विभिन्न स्थानमा त्यस्ता चालकले चलाउने सवारी साधन राख्नका लागि ठाउँ बनाइएको उनले बताए ।
ट्राफिक प्रहरी विहान ७ बजेदेखि नै ड्युटीस्थलमा पुगिसकेको, चेकिङको क्रम बिहान १० बजेदेखि सुरु गरिएको छ । ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट आज विहानै केही लागुपदार्थ सेवनकर्ताका सवारी साधन नियन्त्रणमा लिइसकेको छ ।
ट्राफिकले उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरसँग समन्वय गरेर चेकिङ टोली खटाएको छ ।
होलीका अवसरमा काठमाडौंको बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहितका विभिन्न १९ स्थानमा हुने कार्यक्रमलाई दृष्टिगत गर्दै विशेष सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
‘कुनै पनि बाटो बन्द हुँदैन, तर गौरकानुनी कार्य नियन्त्रण गरिने छ’, उनले भने ।
लागु पदर्थ सेवन गर्नेको शरीर खानतलासी लिइने र त्यस्ता पदार्थ बरामद भएमा कानुनअनुसार कारवाही गरिने बोहराले बताए ।
प्रतिक्रिया