
काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको फाइनान्सिङ भएको छ ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ९ अर्ब रुपैयाँ रहेको छ भने सहअगुवा बैंकहरुको रुपमा रहेका ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको छ । अन्य सहभागी बैंकहरु हिमालयन बैंकको ३ अर्ब रुपैयाँ, नेपाल एसबिआई बैंकको ३ अर्ब रुपैयाँ र एभरेष्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँ समेत गरी कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ रहेको छ ।
सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच सो कम्पनीले मुस्ताङ तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरिएको छ ।
कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले २०७५ फागुनमा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै २०७९ फागुण १७ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवर्धकको रुपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका छन् ।
सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।








प्रतिक्रिया