भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर

336
Shares

लुम्बिनी । राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट ९भेप० को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर इजलासमा मुद्दा दायर भएको छ ।

राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्यालय बुटवलले अनुसन्धान गरी काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसमेत चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा गरिएको हो ।

उक्त काठमाडौँको डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेलाई बेचेको देखाइ एक सय वटाको बिल काटी दुई हजार छ सय भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगञ्ज पठाउने र त्यहाँबाट महँगोमा बेच्नका लागि भारततर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिए ।

मुद्दामा खरिद र बिक्रेता फर्महरूका तर्फबाट फर्मवालालाई मुख्य प्रतिवादी बनाइएको छ ।

उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी ऐनको दफा ४ को खण्ड (ख), (छ), (झ) बमोजिमको कसुर गरेकाले प्रतिवादीहरू सुमन पराजुली र तश्निम जनरल स्टोरका हसिमुन जोलाहमाथि मुद्दा दायर गरिएको छ ।

उनीहरुमाथि ६२ लाख ७१ हजार छ सय ७६ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा २३ (१) बमोजिम मालबस्तु (बिगो) जफत हुन तथा बिगोबमोजिमको जनही ६२ लाख ७१ हजार छ सय ७६ जरिवाना र ऐनको दफा २३ (१) (क) बमोजिम हदैसम्मको कैद सजाय हुन मागदाबी सहित उच्च अदालत तुल्सीपुर इजलासमा अभियोगपत्र दायर गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।

उक्त मुद्दामा प्रतिवादीहरू डाइमण्ड इन्टरनेशनलकातर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने र तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेका सनाउल्ला अन्सारीले उक्त मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्म तथा बिलहरूको समेत दुरूपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको पाइएको छ ।

मतियारको भूमिकामा सहयोग गरेकाले उनीहरुमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (३) बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय र मुख्य प्रतिवादीलाई हुने जरिवानाको आधा जरिवानाले हुने जनही ३१ लाख ३५ हजार आठ सय ३८ रुपैयाँ माग दाबी लिइ उक्त अभियोगपत्र दायर गरिएको प्रमुख घिमिरेले बताए।

मुख्य प्रतिवादी बनाइएका पराजुली र जोलाहलाई पटकपटक पत्राचार गरी सम्पर्क गर्न खोज्दासमेत सम्पर्कमा नआएको र हालसम्म पनि फरार रहेको छन्भने कारोवारमा संलग्न मतियारहरू भने करिब ९० दिनदेखि हिरासतमा राखी अनुसन्धान गरिएको थियो ।

विगतदेखि भेप कारोबार, तस्करी र ओसारपसार बाक्लिएको र यसैको शृङ्खाका रूपमा राजस्व अनुसन्धान विभागबाट एक लाखभन्दा बढी भेप विभिन्न ठाउँबाट बरामद गरी कारबाही भइरहेको छ ।