प्रधानमन्त्रीले उद्घाटन गरे देशकै सबैभन्दा ठूलो कागज उद्योग

1.7k
Shares

महोत्तरी । नेपाल उद्योग वाणिज्य महासंघसंगका अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले स्थापना गरेको कागज उद्योगको उद्घाटन भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्योगको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै महोत्तरीको गौशाला नगरपालिकाको गौशाला-१ इँटाटार गाउँमा दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ।

बैंक वित्तीय संस्था, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि लगायतका क्षेत्रमा संलग्न हुँदै आएका ढकालले ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ को नाममा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् ।

यो उद्योगले पुराना कागज पेलेर नयाँ कागज बनाउँछ । विद्यालय तथा कलेजमा प्रयोग हुने कापी, फोटोकपी पेपर, ट्वाइलेट पेपर, टिस्यु पेपर जस्ता उत्पादनहरूका लागि नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ ।

नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएपछि कुल मागको करिब ३० प्रतिशतभन्दा बढी कागज स्वदेशमै उत्पादन हुने कम्पनीको भनाइ छ ।