कुलमानलाई ३ दिने स्पष्टीकरण सोध्ने सरकारको निर्णय

1.9k
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

‘तपाईंलाई पदबाट किन नहटाउने’ भनेर तीन दिने स्पष्टीकरण सोध्ने निर्णय भएको एक मन्त्रीले बताएका छन् ।

सरकारसँगको लामो द्वन्द्वपछि यसअघि ऊर्जा मन्त्रालयले २२ पुस २०८१ मा घिसिङलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।

मन्त्रिपरिषदको बैठकले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।

लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए । झापाको गौरादह स्थायी घर भएका खरेललाई त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकि थिइन् ।