तीव्र हावा चल्दा विमानस्थलमा अवतरण हुन सकेनन् जहाज, दुईवटा डाइभर्ट, तीनवटा आकाशमा फन्को मार्दै

2.8k
Shares

काठमाडौं । हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान प्रभावित भएको छ ।

नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार पछाडिबाट आएको तीव्र हावाका कारण विमानहरुलाई अवतरण गर्न समस्या भएको हो ।

‘पछाडिबाट आएको तिब्र हावाका कारण अवतरणमा समस्या भएको हो,’ उनले भने, ‘हावाको गति कम भएसँगै अवतरणको तयारीमा सबै जहाज छन् । डाइभर्ट भएका जहाज पनि आउँदै छन् ।’

यसले आन्तरिक उडानलाई भने केही फरक नपर्ने उनले बताए । लामो धावन मार्ग हुने र छोटो दूरीमै अवतरण गर्न सक्ने भएकाले केही समस्या नहुने उनको भनाइ छ ।

एयर चाइना भैरहवा, एयर अरेबिया बनारस डाइभर्ट भएको उनले जानकारी दिए ।

नेपाल एयरलाइन्स, इन्डिगो एर र कतार एयरलाइन्सले नेपाली आकाशमा फन्का लगाइरहेका छन् ।

प्रवक्ता शेर्पाका अनुसार टेलविन्डको गति १९ नटिकल माइलसम्म मापन गरिएको छ । जबकि विमान अवतरणका लागि अधिकतम १० नटिकल माइल टेलविन्ड मात्र झेल्न सक्ने प्रमाणित गरिन्छ । पछाडिबाट आउने यो तीव्र हावाले विमानलाई असन्तुलित पार्ने खतरा हुने भएकाले उडानहरू प्रभावित भएका हुन् ।