
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई समाप्त पार्न गौर हत्याकाण्ड भएको बताएका छन् ।
सिराहाको सदरमुकाम सिराहामा आयोजित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा उनले रौतहटको गौरमा २९ जना माओवादी युवालाई एकै ठाउँमा बर्बरतापूर्वक हत्या गरिएको बताए ।
उनका अनुसार २०६४ को निर्वाचनसम्म आइपुग्दा मधेशमा माओवादीको ठूलो प्रभाव परेको थियो ।
‘मधेश र तराईभरि पनि त्यस बेलाको अंकगणित हेर्नुभयो भने झापादेखि कञ्चनपुरसम्म अत्यधिक ठूलो संख्यामा माओवादीका उम्मेदवार विजयी भएका थिए, त्यसपछि हामीमाथि ठूला षड्यन्त्र भए, एकातिर हामीले माओवादी आन्दोलनलाई एकताबद्ध राख्न सकेनौँ। हाम्रा पनि कमीहरू भए,’ अभियानलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीभित्र पनि अहंकार जन्मियो। अर्कोतिर देशभित्र र बाहिरका दलालहरू षड्यन्त्रमा लागे। त्यही प्रक्रियामा रौतहटमा भयानक हत्याकाण्ड भयो। २९ जना माओवादी युवाहरूलाई एकैठाउँमा क्रूरतापूर्वक हत्या गरियो।
प्रचण्डले तत्कालिन समयमा महिलामाथी भएको अपमान र अत्याचार सुन्न पनि गाह्रो हुनेगरी हत्या भएको बताए ।
मधेशका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेको आरोप लगाउदै उनले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको बताए।
मधेसी जनता वास्तविक देशभक्त र सीमा रक्षकको रूपमा रहेको उल्लेख गर्दै प्रचण्डले उनीहरूको सम्मान गर्नुको साटो अरू देशका नागरिक सरह व्यवहार गर्नुका साथै विभेद र अपमान भएकाले यो समस्यालाई माओवादी पार्टीले मात्रै समाधान गर्न सक्ने दावी गरे ।
माओवादी जनयुद्धको क्रममा झन्डै एक हजार तीन सय मधेसी जनताका छोराछोरीले बलिदान दिएको उनको भनाई छ ।
आफ्नो पार्टीले जनयुद्ध सुरु गर्दा पहिलो पटक हतियारको तालिम मधेसबाटै सुरु गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले आफूले पहिलो पटक हतियारको तालिम धनुषा र सिरहाबाटै लिएको स्मरण गरे।
प्रतिक्रिया