
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् ।
शनिवारबाट नेपाल प्रहरीले शुरु गरेको लागुऔषध बिरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने आवश्यकता औल्याए । उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले अधिकतम प्रयास गर्नुपर्ने बताए ।
पालिका र वडा—वडा स्तरबाट लागुऔषध बिरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिदैं उनले ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गरे ।
समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जानकारी दिए ।
‘अहिले हामी संघीयतामा छौँ । तीन तहमा सरकार छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यसमा स्थानीय तहलाई जोड्न जरुरी छ । किनभने यो अभियानलाई वडा वडा स्तरमा पु¥याउन सकियोस् । पालिकाहरुले पनि यसलाई एउटा अभियानका रुपमा अघि बढाउन जरुरी छ । एकै पटक जिल्लाभर नहोला तर एउटा जिल्लाको दुई, तीन वटा पालिकालाई लागुऔषध मुक्त पालिका बनउने काम गरौँ । पालिका उठाऔँ,’ गृहमन्त्री लेखकले भने, ‘त्यहाँका स्कुल, क्याम्पस, युवा क्लव, राजनीतिक दल, भ्रातृ संस्था, शुभेच्छुक, विद्यार्थी संगठनहरुलाई संलग्न गरौँ र एउटा पालिकालाई ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाऔँ । समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी छ । लागुऔषधले समाजलाई धेरै नै नकारात्मक प्रभाव बनाएको छ ।
उनले थप्दै भने, ‘लागुऔषध दुव्यर्सनमा पर्न नदिने स्थिति निर्माण गर्ने एउटा पाटो छ भने अर्को यसको ओसारपसार, व्यापार, भण्डारण गर्ने अपराधिक गतिविधिमा प्रहरीको काम छ । खोज्ने, समात्ने, हेर्ने गर्नुपर्छ । कडाईका साथ काम गर्नुपर्छ । निवारण गर्ने काममा हामी समाज लाग्नुपर्छ । यसलाई महाअभियानका रुपमा देशभर लैजानुपर्छ । म मेरोतर्फबाट प्रतिवद्ध छु । नेपाल सरकारले लागुऔषध नियन्त्रणका लागि गर्नुपर्ने गतिविधिमा के के गर्नुपर्छ म तयार छु । यस बिरुद्धको लडाईंमा विजय प्राप्त गर्छौं । यो मुलुकलाई लागुपदार्थ मुक्त देशको रुपमा हामी स्थापित गर्नसक्छौँ ।’
गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागुऔषध रहेको बताए । अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको जानकारी दिए । लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने उनको भनाई थियो ।
देशभर लागु औषधको मुद्दा करिव ७ प्रतिशत
कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको औल्याएका छन् ।
उनले सामुहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको औल्याए ।
समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रुपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ उनको भनाई थियो ।
उनले भने, ‘लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव हुँदैन । यो सामुहिक दायित्वको विषय हो । यसको लागि प्रो एक्टिभनेस पनि महत्वपूर्ण रहेको छ । यसमा व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य छ । यसै तथ्यलाई आत्मसाथ गर्दै समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रुपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गर्न लागिएको हो । ’
विश्वमा करिव ३० करोड र एशियामा मात्रै करिव ६ करोडको हाराहारीमा लागुऔषध सेवनकर्ता रहेको उनको भनाई छ । जसमध्ये गाँजा र सोबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत छ। लागुऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरु प्रत्येक आर्थिक वर्षमा करिव ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको उनले बताए ।
प्रतिक्रिया