बिमा प्राधिकरण अध्यक्षका लागि शरद ओझासहित ३ जनाको नाम सिफारिस

2.1k
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले बिमा प्राधिकरणको अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस भएको हो । सिफारिस समितिले पहिलो नम्बरमा शरद ओझा, दोस्रो नम्बरमा रामशरण पुडासैनी र तेस्रो नम्बरमा दामोदर बसौलाको नाम सिफारिस गरेको स्रोतले बतायो ।

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । यही मन्त्रिपरिषदले यी ३ मध्ये १ जनालाई अध्यक्ष बनाउनेछ । अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दैछ ।

क्लिकमान्डुका विषेश संवाददाता एवं वरिष्ठ प्रबन्धक रहेर काम गरिसकेका ओझा प्राध्यापन पेसामा पनि संलग्न छन् भने कानुन व्यवसायी पनि हुन् । उनले सरकारी निकाय तथा निजी क्षेत्रका लागि पोलिसी कन्सल्टिङको काम गरेका छन् ।

पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । कृषि विकास बैंकका अध्यक्ष पुडासैनी अर्थ मन्त्रालयमा राजस्व सचिव तथा संस्थान समन्वयन महाशाखामा काम गरिसकेको छन् । नेपाल बिमा प्राधिकरण ऐनको मस्यौदा बनाउने क्रममा उनी मन्त्रालयमै थिए । बसौला स्वास्थ्य बिमा बोर्डका पूर्व अध्यक्ष हुन् ।

गत शनिबार भएको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अर्न्तवार्ताका आधारमा धेरै अंक प्राप्त गर्ने ३ जना प्राधिकरण अध्यक्षको लागि सिफारिस भएका हुन् । ३ जना मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

Skip This