अब भैंसेपाटीबाट वाइवाइ उत्पादन नहुने, पहिलो फ्याक्ट्री नवलपरासी सारियो

1.4k
Shares

काठमाडौं । वाइवाइको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ । ललितपुरको भैसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क (सिजिआईपी) मा सारिएको हो ।

वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण प्रक्रिया श्रमिकको व्यवस्थापन र अन्य सरोकारवालाबीच आपसी समझदारी र लिखित सहमतिमा सम्पन्न गरिएको हो ।

वाइवाइ नेपालको सबैभन्दा लोकप्रिय तयारी चाउचाउ ब्रान्ड हो ।

सन् १९८४ मा स्थापना भएको भैसेपाटीको वाइवाइ फ्याक्ट्री नेपालको तयारी चाउचाउ उत्पादन केन्द्रहरूमध्ये एक हो । स्थापना भएको समयमा भैसेपाटी खुला क्षेत्र थियो, जहाँ औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्थ्यो । ‘समयक्रमसँगै यो क्षेत्र उच्च जनघनत्व भएको आवासीय क्षेत्रमा परिणत भयो, जसले औद्योगिक उत्पादनलाई निरन्तरता दिन कठिन बनायो र हामी यस ऐतिहासिक फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने निर्णयमा पुग्यौं,’ पुडासैनीले बताए ।

साथै, केही समयदेखि स्थानीय बासिन्दा तथा सामाजिक क्षेत्रबाट वातावरणीय प्रदूषण, ध्वनि प्रदूषण, तथा औद्योगिक गतिविधिहरूको प्रभाव सम्बन्धी चिन्ताहरू पनि प्रकट भएका थिए । यी सरोकारहरूलाई गम्भीर रूपमा लिँदै र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिबद्धताका साथ वाइवाइ व्यवस्थापनले स्थानान्तरणको निर्णय लिएको हो ।

फ्याक्ट्री स्थानान्तरणका क्रममा कुनै पनि श्रमिकलाई असहज स्थिति नहोस् भन्ने उद्देश्यले कम्पनीले विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरेको थियो । साथै, इच्छुक कर्मचारीहरूका लागि वाइवाइका काठमाडौंबाहिर रहेका अन्य प्लान्ट तथा अफिसहरूमा स्थानान्तरणको अवसर खुला गरिएको छ । व्यवस्थापनका अनुसार, यस प्रक्रियाले कम्पनीभित्रको कार्य वातावरणलाई अझ सुदृढ बनाउनेछ । ‘सम्पूर्ण कर्मचारीहरुको उचित व्यवस्थापन पश्चात लिखित सहमतिमा नै यस फ्याक्ट्रीलाई स्थानान्तरण गरिएको हो,’ पुडासैनीले बताए ।

नवलपरासीमा स्थानान्तरण भएको नयाँ फ्याक्ट्री अत्याधुनिक प्रविधियुक्त उत्पादन प्रणालीमा अपग्रेड गरि सञ्चालनमा ल्याइएको छ । चौधरी ग्रुपले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उत्पादन सुनिश्चित गर्न प्रविधिमा थप लगानी गरिरहेको छ ।

यो स्थानान्तरणले वाइवाइ ब्रान्डलाई अझ विस्तार गर्न, उत्पादन क्षमतामा वृद्धि गर्न, तथा गुणस्तरमा सुधार ल्याउन टेवा पुग्ने कम्पनीको विश्वास छ । नेपालकै सबैभन्दा सफल एफएमसीजी ब्रान्डमध्ये एक वाइवाइले आफ्नो उत्पादनलाई अझ सुदृढ गर्दै विश्व बजारमा अझ मजबूतीका साथ प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ ।