
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा आवश्यक सहयोग गरिदिन जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग आग्रह गरेकी छन् ।
आठौँं हिन्द महासागर सम्मेलनमा सहभागी हुन ओमनको राजधानी मस्कट पुगेकी परराष्ट्रमन्त्री डा देउवाले जापानी राज्यमन्त्री ताकुमासँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेकी हुन् ।
गत सेप्टेम्बरमा आएको भीषण बाढीका कारण बिपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुनःनिर्माणका क्षेत्रमा आवश्यक सहयोगका लागि जापान सरकारसँग उनले आग्रह गरेकी हुन् ।
नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो । मन्त्री डा देउवाले नेपालको एक प्रमुख दाता राष्ट्रका रूपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत जापान सरकारलाई आभार व्यक्त गरेकी थिइन ।
भेटका क्रममा नेपाल र जापानले आगामी वर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको थियो ।
त्यस अवसरमा नेपाल र जापानले गत वर्षमात्र सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच वर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यविधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको थियो ।
मन्त्री डा देउवाले जापान सरकारलाई नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थलमा जापानबाट प्रत्यक्ष उडानका लागि पनि आग्रह गरेकी थिइन ।
मन्त्री डा देउवाले हाल काठमाडौँ नारिता प्रत्यक्ष उडान रहेकामा जापानबाट भैरहवा उडान गर्न सकिएमा लुम्बिनी जाने जापानी नागरिकलाई सहयोग पुग्ने र यसबाट नेपाल र जापानका बीचमा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा मन्त्री डा देउवाले राखेकी थिइन ।








प्रतिक्रिया