भारतीय ऊर्जामन्त्री खट्टर नेपाल आउँदा क्रस बोर्डर प्रसारणलाइन बनाउन सहमति हुने

490
Shares

काठमाडौं । भारतका ऊर्जामन्त्री मनोहरलाल खट्टर नेपाल भ्रमणमा आउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निम्तामा उनी नेपाल आउन लागेका हुन् ।

ऊर्जामन्त्री खड्का नेतृत्वको टोली ‘इन्डिया इनर्जी वीक २०२५’ मा सहभागि हुन भारत पुगेको थियो । सोही क्रममा उनले निम्ता दिएका थिए  ।

‘फेब्रुअरी २५ देखि ३० तारिख उहाँ नेपाल आउने भन्ने छ । भारतीय राजदूतावासले दुवै पक्षसँगको छलफलमा मिति तय गर्छ,’ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यले भने, ‘हामी एउटा प्रसारणलाइन बनाउने एमओयुको तयारी गर्दैछौं । कुन प्रसारणलाइन भन्ने एकिन भइसकेको छैन ।’ उनले कुनै परियोजना बनाउन द्धिपक्षीय समझदारी गर्ने गरी भोलिबाट तयार थाल्ने बताए ।

शुक्रबार नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले ऊर्जामन्त्री खड्कालाई भेटेर भारतीय ऊर्जामन्त्रीको नेपाल भ्रमणका विषयमा छलफल गरेका छन् ।

गत मंगलबार नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा बसेको थियो । बैठकमा इनरूवा-न्यु पूर्णिया र दोदोधरा-बरेलीबीचको ४०० किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरुको निर्माण कार्य संयुक्त उपक्रम मार्फत क्रमशः सन् २०२८/२९ र २०२९/३० सम्ममा सम्पन्न गर्ने सहमति भएको छ । 

यसका लागि नेपालतर्फको प्रसारण लाइन नेपाल विद्युत प्राधिकरणको ५१% र भारतको पावर ग्रिडको ४९% तथा भारततर्फको प्रसारण लाइनको लागि  ५१% पावर ग्रिड र ४९% नेपाल विद्युत प्राधिकरणको स्वपुंजी रहने गरी संयुक्त उपक्रमको मोडालिटीमा गर्ने सहमति भएको छ । संयुक्त उपक्रम कम्पनी स्थापना सम्बन्धी कार्य १(एक) महिनाभित्र सम्पन्न गर्ने समेत सहमति भएको छ ।

संयुक्त कम्पनी स्थापना गरेर निर्माणका लागि दुई देशका ऊर्जामन्त्रीले एमओयु गर्ने योजनामा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय रहेको छ ।

‘हामीले प्रसारणलाइन बनाउने मिति त तोक्यौं तर विद्युत प्राधिकरण र पावर ग्रीडको सयुक्त कम्पनी बनाउनुपर्नेछ । त्यसका लागि सम्झौता गर्न सक्छौं,’ ऊर्जा सचिव आचार्यले भने ।  लामो समयदेखि दुई देशकाबीचमा प्रसारणलाइनको मोडालिटीमा सहमति हुन सकेको थिएन । यो पटकको सचिवस्तरीय बैठकले मोडालिटीमा सहमति जुटाएसँगै निर्माण बाटो खुलेको छ ।

त्यसै गरी सन् २०३४-३५ सम्मका लागि नेपालबाट थप विद्युत भारत निर्यात गर्नका लागि तल उल्लेखित अन्तर्देशीय प्रसारण लाइनहरूको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण तथा विस्तार गर्ने सहमति भएको सचिव आचार्यले बताए । त्यस्तै निजगढ/हरनैया (नेपाल) -मोतिहारी (भारत) बीच ४०० केभी प्रसारण लाइन सन २०३४-३५ सम्म निर्माण गर्ने लक्ष्य छ  कोहलपुर (नेपाल)-लखनउ (भारत)बीच ४०० केभी प्रसारण लाइन: २०३४-३५ सम्म निर्माण गर्ने सहमति भएको छ ।

हाल सञ्चालनमा रहेको पहिलो अन्तर्देशीय ढल्केबर-मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत आयात-निर्यातको परिमाण ८०० मेगावाटबाट १००० मेगावाट पुर्‍याउने निर्णय गरेको छ ।

ऊर्जा सचिव आचार्यका अनुसार चमेलिया (नेपाल)-जौलिजीवी (भारत) बीचको २२० किलोभोल्ट डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन २०२५ मार्चसम्म तयार गर्ने र नेपाल खण्डको प्रसारण लाईन नेपाल विद्युत प्राधिकरण तथा भारत खण्डको प्रशारण लाइन पावर ग्रिडले २०२७ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने सहमति भएको छ ।

यी पूर्वाधार निर्माण पूरा भएपछि नेपाल भारत १५००० मेगावाट बिजुली निर्यात गर्न सकिनेछ ।

नेपालमा भारतीय लगानीका ५००० मेगावाटका आयोजना छन् । जसमध्ये ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण भइरहेको छ । जसको आगामी १ वर्षमा उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । भारतका ऊर्जामन्त्रीको यो भ्रमणमा भारतीय सरकारी कम्पनीले लिएका आयोजनाहरुको भ्रमण गर्ने समेत तयारी छ ।

ऊर्जामन्त्रीको भ्रमणपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुने ऊर्जामन्त्री खड्काले जनाकारी दिए।

Skip This