
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ ।
नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेवन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुनेछ । रेवन्त एक कार्यकाल महासचिव र चार कार्यकाल उपाध्यक्ष भइसकेकाले यसपटक अध्यक्ष हुनपर्ने अडानमा छन् ।
नेपालगञ्जमा भएको १०औँ महाधिवेशनबाट महासचिव पदमा सर्वाधिक मत लिएर विजयी भएका गौतम ११औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए । उनले संगठनको भावी कार्ययोजनासहित आफू अध्यक्षमा उमेद्वारी रहेको सार्वजनिक गरिसकेका छन् । भवानी पनि केन्द्रीय महिला विभाग प्रमुख हुँदै एक कार्यकाल उपाध्यक्ष भइसकेकाले अब पहिलो महिला अध्यक्ष बन्ने प्रयासमा छिन् ।
महाधिवेशन प्रतिनिधिहरूबिच समेत निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुनुपर्ने आवाज उठिरहेको छ । जसले गर्दा समेत दुवै पक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने देखिएका हुन् । यही भावनालाई मध्यनजर गर्दै निर्वाचन समितिले निर्वाचन कार्य तालिका सार्वजनिक गरिसकेको छ ।
निर्वाचन तालिकाअनुसार आजै राती ११ बजे पछि मतदान हुनेछ ।
प्रतिक्रिया