डिभाइडरमा ठोक्किएपछि उछिट्टिएर त्रिशूलीमा खसे चालक, मोटरसाइकल भने सडकमै

5.9k
Shares

चितवन । चितवनको नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेका एक मोटरसाइकल चालक त्रिशूली नदीमा बेपत्ता भएका छन् । मोटरसाइकल सडक छेउको डिभाइडरमा ठोक्किएपछि उनी नदीमा खसेका थिए । एउटा पर्स चट्टाने भीरमा फेला परेको र खसेका व्यक्ति उनै हुन सक्ने प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार पर्समा भेटिएको कागजातका आधारमा उनी भारतीय सेनाको ‘गोर्खा राइफल्स’ मा कार्यरत २७ वर्षीय रोहित राना रहेका छन् । लम्जुङ घर भएका रानाको पर्समा भारतीय परिचयपत्र पनि फेला परेको छ ।

शुक्रबार बिहान ११:३० बजे नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीर क्षेत्रबाट उनले चलाएको बागमती प्रदेश ०६-०२ प ९२०४ नम्बरको रोयल इनफिल्ड मोटरसाइकल दुर्घटनामा परेको थियो । सडकबाट करिब १५० मिटर तल त्रिशूली नदीमा उनी खसेको जनाइएको छ । प्रहरीले मोटरसाइकल भने सडकमै रहेको जनाएको छ।

दुर्घटनास्थलनजिकै माछा मारिरहेका माझीहरूले सडकबाट मान्छे उछिट्टिएको देखेको बताएका छन् । सोही आधारमा सशस्त्रको गोताखोरको टोली, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

Skip This