‘ट्रम्प सक’ ले एकैसाथ बढ्दैछ सुन र डलरको मूल्य, कहाँ पुगेर रोकिएला ?

4.4k
Shares

काठमाडौं । सामान्यतया परम्परागत अर्थशास्त्रीय सिद्धान्तअनुसार अमेरिकी डलर र सुनको मूल्यबीच विपरित सम्बन्ध हुन्छ । डलरको मूल्य बढ्दा सुनको मूल्य घट्छ भने सुनको मूल्य बढ्दा डलरको घट्छ । तर अहिले अर्थतन्त्रको उक्त सिद्धान्तले काम गरेन ।

महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्व अर्थतन्त्र नै अनिश्चिततातर्फ अघिबढेको छ । ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै सुन र अमेरिकी डलरको मूल्यले एकासाथ नयाँ उचाई कायम गर्दै अगाडि बढेको छ ।विशेष गरेर अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धले विश्व अर्थव्यवस्थामा नै ठूलो प्रभाव देखिएको छ ।

अमेरिकीहरु लगानी फिर्ता लगेर देशभित्र लगानी बढाउने र विश्वका अन्य केन्द्रीय बैंकले अमेरिकी डलरबाट लगानी सुनतिर सिफ्ट गर्दा सुन र डलरको मूल्य एकसाथ उच्च वृद्धि देखिएको हो ।

सन् २०२४ मा विश्व बजारमा सुनको मूल्य अमेरिकी डलरमा २६.३ प्रतिशतले वृद्धि भएको छ । २०२५ अमेरिकी राष्ट्रपतिको पदभार ट्रम्पले सम्हालेपछि लिएको कर सम्बन्धी नीतिको कारण सुनको मूल्य झनै बढेको छ । सन् २०२५ लागेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेको छ ।  

सुनको मूल्य मात्रै नभएर डलरको मूल्य पनि सँगसँगै बढेको छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुँदा २०२४ नोभेम्बर ६ मा अमेरिकी डलरको बिक्री मूल्य १३४.८८ रुपैयाँ थियो । २०२५ फेब्रुअरी ११ मा आउँदा १४०.२७ रुपैयाँ पुगेको छ ।  

ट्रम्पले लिएको आर्थिक नीतिले विश्व अर्थतन्त्रमा नै अनिश्चतता बढाउने भन्दै उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै चीन भारत लगायतका मुलुकले सुनमा लगानी बढाएका छन् । विश्वका धेरै केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चितिमा अमेरिकी डलरको हिस्सा घटाएर सुनको हिस्सा बढाउँदै लगेका हुन् । 

सन् २०२४ मा भारत तेस्रो ठूलो सुन खरिदकर्ताको रुपमा देखा पर्दा चीन चौथो ठूलो खरिदकर्ताको रुपमा अगाडि बढेको छ । सन् २०२४ मा अर्को इमर्जिङ अर्थतन्त्रको रुपमा अगाडि बढेको टर्कीले ७५ टन र पोल्याण्डको केन्द्रीय बैंकले ९० टन सुन किनेका छन् । 

२०२५ मा पनि चीन र भारतको केन्द्रीय बैंकले विदेशी विनियम सञ्चितिमा सुनको हिस्सा बढाउँदै लगेर डलरको हिस्सा घटाएका हुन् । २०२४ मा लगातार तेस्रो वर्ष केन्द्रीय बैंकहरुले १ हजार टनभन्दा धेरै सुन खरिद गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

भारतबाट बाहिरिँदै पोर्टफोलियो लगानी

२०२४ को सेप्टेम्बरयता भारतको विदेशी विनियम सञ्चिति लगातार घटेर ११ महिना अगाडिको अवस्थामा पुगेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले रुपैयाँको अवमूल्यन रोक्न विदेशी मुद्रा बजारमा गरेको हस्तक्षेपको विदेशी विनियम सञ्चितिमा गिरावट देखिएको छ । ‘भारतीय रुपैयाँ अमेरिकी डलरसँगको तुलनामा कमजोर हुँदै गएको छ । जसले आरबीआईलाई बजारमा डलर बिक्री गर्न बाध्य बनाएको छ,’ रोयटर्सले लेखेको छ, ‘विदेशी लगानीकर्ताहरूले भारतीय सेयर र बन्ड बजारबाट लगानी फिर्ता लिँदा पनि सञ्चितिमा दबाब परेको छ । रुपैयाँको अवमूल्यन र विदेशी मुद्रा सञ्चितिको गिरावटले भारतीय अर्थतन्त्रमा थप चुनौतीहरू सिर्जना गरेको छ ।’

भारत, चीन, रुस, बेलायत र पोल्याण्ड, टर्की लगायत युरोपियन देशहरुले पनि डलरसँगको निर्भरता कम गर्ने र मुद्रास्फितिमा स्थायित्व काम गर्न भन्दै सुनमा लगानी बढाएका छन् । जसले सुनको मागमा उच्च वृद्धि हुँदा सुनको मूल्य लगातार बढेको छ ।

सुनको मूल्यमा वृद्धि हुँदा डलर कमजोर हुने गरेको भए पनि पछिल्लो समय सुनको मूल्यसँगै डलरको विनिमयदर पनि लगातार बढ्दै भएको छ । डलरको तुलनामा चिनियाँ, र भारतीय मुद्रा कमजोर बन्दै गएको छ । 

ट्रम्पको अमेरिकी उत्पादन नीति आल्मोनियम लगायतका बस्तुमा लगाएको भन्सारले डलरलाई थप बलियो बनाएको अन्तराष्ट्रिय सञ्चाल माध्यमले उल्लेख गरेका छन् । विश्वका केन्द्रिय बैंकले अमेरीकी ट्रेजरी बिलको लगानी झिकेर सुनमा लगानी बढाउँदै लैजाँदा अमेरीकीहरु भने डलरको लगानी बढाएका छन् । ब्याजदर माथि हुँदा समेत अमेरीकामा न्युन बेरोजगारी दर भएको रिपोर्टले डलरलाई थप बलियो बनाएको हो ।  

भारत लगायतका देशमा स्टक, वण्ड लगायका मार्केटमा आएको पोर्टफोलियो लगानीसमेत तिव्र रुपमा बाहिरिँदा डलर थप बलियो भएको हो । साथै, डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले गर्दा सुनमा बढाएको लगानीले सुनको मूल्य पनि लगातार बढेको हो । 

डलर र सुनको मूल्यमात्रै नभएर अभौतिक सम्पत्तिको रुपमा रहेको विटक्वाइनको मूल्य पनि लगातार बढेको छ । पछिल्लो ३ महिनामा बिटक्वाइनको मूल्य १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ट्रम्पले अबको लगानी भौतिक सम्पत्तिमा नभई अभौतिक सम्पत्तिमा हुनुपर्ने बताएपछि विटक्वाइनको मूल्यमा एकैपटक उच्च वृद्धि भएको थियो । 

राष्ट्रिय योजना आयोगका सदस्य तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक समेत रहेको अर्थशास्त्री डा. प्रकाशकुमार श्रेष्ठ सुन र डलरको मूल्य एकैपटक वृद्धि हुनुका कारण ‘ट्रम्प सक’ भएको बताउँछन् । ‘ट्रम्प सक’को दुईवटा कारक रहेको उनले बताए। 

‘अमेरिकामा नै लगानी गर्ने र त्यहिँ प्रतिफल आउँछ भन्ने ट्रम्प नीतिले अमेरिकी लगानी फिर्ता हुँदा अन्य मुलुकमा डलरको सटेजले डलरको मूल्य वृद्धि भयो,’ डा. श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘ट्रम्पनको अनिश्चित नीतिले चीन, युरोप, रसिया र भारतले समेत अमेरिकी विदेशी विनियम सञ्चिति डलरबाट सुनमा सिफ्ट भएको छ ।’

चीनले गत वर्षदेखि नै अमेरिकी ट्रेजरी बिलको लगानीबाट सुनमा लगानी बढाएको छ । रसियाले पनि सुनमा नै लगानी बढाएको  र भारतले समेत सुनमा लगानी बढाएकोले सुनको मूल्यमा वृद्धि भएको उनले बताए । 

‘सुनको मूल्यलाई प्रभावित पार्ने प्रमुख ३ कारणहरुमा चीन र भारतमा उपभोक्ता माग, केन्द्रीय बैंकहरूको खरिद, लगानी प्रवाह  हुन् । हालका वर्षहरूमा चीन र भारतको उपभोक्ता माग स्थिर भए पनि केन्द्रीय बैंकहरूको खरिद र लगानी प्रवाहले सुनको मूल्य वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन्,’ रोयटर्सले लेखेको छ, ‘केन्द्रीय बैंकहरूले लगातार तेस्रो वर्ष १ हजार टनभन्दा बढी सुन खरिद गरेका छन् । जसले विश्वका केन्द्रिय बैंकहरु अमेरीकी सम्पत्तिहरूबाट टाढा रहन खोजिरहेको संकेत गर्छ। ट्रम्पको अनिश्चित नीतिहरूले अन्य देशहरूलाई अमेरिकी सम्पत्तिबाट टाढा रहन प्रेरित गरेको हुन सक्छ।’

लगानी प्रवाहमा विविधीकरण, सुरक्षित लगानीको खोजी, र मुद्रास्फीतिविरुद्धको बचावले पनि सुनको लगानी बढेको रोयटर्सले उल्लेख गरेको छ ।

‘ट्रम्पको नीतिहरूले सुनको मूल्य वृद्धिमा सहयोग पुर्‍याए पनि उनको अनिश्चितताले सुनको मूल्यमा अस्थिरता पनि ल्याउन सक्छ । समग्रमा, सुनको मूल्य वृद्धिमा ट्रम्पको नीतिहरूको भूमिका भए पनि अन्य संरचनात्मक कारकहरूले पनि यसलाई समर्थन गरेका छन्,’ रोयटर्सले लेखेको छ । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतीय केन्द्रीय बैंकले विदेशमा राखेको सुनलाई पनि आफ्नो भण्डारणमा ल्याइरहेको छ।

‘आरबीआईले मार्चदेखि सेप्टेम्बर २०२४ सम्ममा, बैंक अफ इग्ल्याण्डबाट १०२ टन सुन भारतमा ल्याइएको छ,’ भारतीय सञ्चार माध्यमले लेखेका छन् । आरबीआईले बैंक अफ इग्ल्याण्ड र बैंक फर इन्टरनेसनल सेटलमेन्टमा आफ्नो सुन राखेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । जसमध्ये कही हिस्सा आरबीआईले आफ्नो ढुकुटीमा ल्याएको छ ।

‘सुनको मूल्य पछिल्लो १६ महिनामा ६३ प्रतिशतले बढेको छ । विशेष गरी ट्रम्पको दोस्रो कार्यकालको चुनावपछि यो वृद्धिमा तीव्रता आएको छ,’ रोयटर्सले लेखेको छ । 

भारत लगायका मुलुकबाट पोर्टफोलियो लगानी फिर्ता हुने र अमेरिकीहरुले नै अमेरिकामा लगानी बढाउँदा डलर पनि थप बलियो बनेको श्रेष्ठको तर्क छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल भारत, चीन, बेलायत लगायका मुलुकका केन्द्रीय बैंकले किन्दा सुनको मूल्य बढेको बताउँछन् ।

‘चीन र भारतले सुन किनेर भौतिक रुपमा नै स्टक वृद्धि गरेका छन्,’ नेपाल भन्छन्, ‘ट्रम्प प्रशासनको नीतिले डलरको तुलनमा चिनियाँ र भारतीय मुद्रा कमजोर भएर गयो । भारतबाट पुँजी पलायन भएर विदेशी विनियम सञ्चिति पनि घट्दो क्रममा देखिन्छ।’

आयातमा आधारित अर्थतन्त्र र सार्वजनिक ऋणमा करिब ५० प्रतिशत विदेशी ऋणको दायित्व भएकोले डलर बलियो बन्दै जाँदा आयाति बस्तु थप महँगिने अवस्था बनेको छ । आयातको तुलनामा निर्यात ९ गुणाभन्दा धेरै भएकोले डलर बलियोभन्दा आयातित बस्तु महँगिन जान्छ । त्यस्तै डलरमा भुक्तानी गर्नुपर्ने वैदेशिक ऋणको  लागत समेत बढेर जान्छ । रेमिट्यान्समा आधारित अर्थतन्त्र भएकोले डलरको मूल्य बढ्दा रेमिट्यान्स पठाउनेलाई भने फाइदा पुग्छ ।

Skip This