तिपेनी आँखा शिविरमा ३० जनाको आँखाको शल्यक्रिया


 सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका- ८ स्थित तिपेनीमा रहेको पाँचपोखरी प्राथमिक अस्पतालमा निशुल्क आँखाको शल्यक्रिया शिविर गरिएको छ । शिविरमा ३० जनाको आँखाको शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख आत्मराम धितालले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना ,सेभेन समिट फाउण्डेशनको समन्वय तथा मातृका आँखा केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा ४ दिन पालिकाको विभिन्न स्थानमा मोतिविन्दु छनोट शिविर सञ्चालन गरी छनोट भएको विरामीको  शल्यक्रिया   गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

स्थानिय सरकारको अनुभूतिको गराउनका लागी गाउँ गाउँमा पुगेर शिविर सञ्चालन गरी छनोट भएका विरामिको निशुल्क सल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष लामाले बताए ।

दुर्गम भेग मानिने पाँचपोखरीमा धेरैमा आँखाको समस्या रहेको थाहा पाएपछि विगतका बर्षहरुमा जस्तै यस बर्ष पाँचपोखरीमा शिविर सञ्चालन गरिएको सेभेन समिटका उपाध्यक्ष श्याम तामाङले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिका- ८ लाँगर्चेका ७३ बर्षिय एकेन्द्र खनालले आफ्नै घर आँगनमा सञ्चालित शिविरबाट आँखाको शल्यक्रिया गर्न पाएकोमा खुशी लागेको बताए । काठमाडौं जाँदा लाग्ने खर्चसमेत बचत भएको भन्दै उहाँले गाउँमै सेवा पाएकोमा खुशी  लागेको बताए ।

देवराज सुवेदी/रासस