बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भए ।
गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए ।
विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेकाखत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिन्छन् । उनले भने, ‘पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ । यस वर्ष १२ केजी आठ सय ८० ग्रामको काउली फलाउन सफल भए ।’
उनले १८ रोपनी जग्गा तरकारीखेती गर्दै आएका छन् ।
आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए ।
स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० देखि १२ लाख आम्दानी गर्दै आएका थिए।
अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले बताए ।
तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उनले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् ।
खत्रीको फार्ममा आठवटा प्लाष्टिक टनेलमध्ये दुईवटा हाइटेक र अन्य परम्परागत टनेल छन् । खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको बताए ।
प्रतिक्रिया