
एजेन्सी । अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल शुरुवातसँगै मेक्सिको, क्यानडा र चीनको उत्पादनमा क्रमशः २५%, २५% र १०% ट्यारिफ (कर) लागू गर्ने घोषणा गरेको छ ।
यो निर्णयसँगै चीनको उत्पादन उद्योगमा ठूलो असर पर्ने सम्भावना रहेको छ । ट्रम्पको पहिलो कार्यकालको दौरान पनि अमेरिकी-चीन व्यापार युद्धले चीनका उत्पादक र निर्यातकर्ताहरूसँग जटिल अवस्था सिर्जना गरेको थियो । यो समस्या अहिले पनि जारी रहेको छ ।
चीनको पूर्वी तटस्थित एक काउब्याय बूट उत्पादन गर्ने फैक्ट्रीमा काम गर्ने ४५ वर्षका सेल्स म्यानेजर पेंगले भने, ‘हामी प्रत्येक वर्ष करीब दस लाख जोडो जुत्ता बेच्थ्यौं, तर ट्रम्पको ट्यारिफ लागू भएपछि अर्डर घटेको छ र हामीले धेरै कर्मचारी गुमाएका छौं ।’
पेंगका अनुसार, २०१९ मा ट्रम्पको पहिलो कार्यकालको चौथो ट्यारिफले चीनमा बनेका उपभोक्ता वस्तुहरू जस्तै कपडा र जुत्तामा १५% ट्यारिफ लगाएको थियो। यसका कारण फ्याट्रीमा अर्डर घटेको थियो र कर्मचारीहरूको संख्या ५०० बाट घटेर २०० पुगेको थियो । ट्रम्प पुनः राष्ट्रपति बनेका छन् । उनको दोस्रो कार्यकालले चीन र अमेरिका बीचको व्यापार युद्धलाई नयाँ मोडमा लैजाने सम्भावना रहेको छ ।
चीनका व्यापारिक उद्योगमा ट्रम्पको निर्णयले अनिश्चितता थप्ने भएको छ । कम्बोडिया र भियतनाम जस्ता दक्षिण-पूर्वी एशियाली मुलुकहरूमा रहेका चिनियाँ व्यवसायीहरू उत्पादन स्थानान्तरण गर्दैछन् । केही प्रमुख कम्पनीहरू जस्तै नाइकी, एडिडास र पुमाले चीनबाट उत्पादन हटाएर अन्य देशहरूमा सार्ने काम थालेका छन् । कम्बोडियामा एक चिनियाँ व्यवसायी हुआंग झाओदोंगले भने, ‘हामीले यहाँ नयाँ कारखाना खोलेका छौं, जहाँ प्रत्येक महिना पाँच लाख कपडा उत्पादन गरिन्छ,’ उनले भने, ‘हामीले ग्राहकलाई भनेका छौं कि यदि तपाईं उत्पादन चीनबाट स्थानान्तरण गर्नुहुन्न भने, हामीसँगको सम्झौतामा हामी तपाईंको अर्डर रद्द गर्न सक्दैनौं ।’
ट्रम्पका १०% ट्यारिफले चीनको उत्पादन र निर्यातमा ठूलो असर पर्न सक्छ। यसका कारण चीनका विभिन्न उद्योगहरूले आफ्नो आपूर्ति श्रृंखलालाई पुनः संरचना गर्न थालेका छन् । यसबाहेक ट्रम्पको निर्णयले व्यापारिक युद्धमा नयाँ जटिलताहरू थप्न सक्छ, जसको प्रत्यक्ष असर अमेरिकी र चिनियाँ व्यवसायीहरूको मुनाफा र उत्पादन लागतमा पर्न सक्छ ।
चीनको व्यापारिक रणनीतिका बारेमा चिन्ता व्यक्त गर्दै, चाइना केमर्सियल चेम्बरका केनी याओले भने, ‘चीनका व्यवसायीहरू अब सोचिरहेका छन् कि ट्रम्पले सप्लाई चेनलाई लक्ष्य बनाएर अन्य मुलुकहरूमा पनि ट्यारिफ लगाउन सक्छन् । यसलाई ध्यानमा राखेर, चिनियाँ व्यवसायहरूले अफ्रिका र ल्याटिन अमेरिकामा नयाँ बजार खोज्न थालेका छन् ।’
अमेरिका र चीनबीचको व्यापारिक युद्धको बीचमा चीनले बेल्ट एन्ड रोड इनिशिएटिव (बीआरआई) मार्फत आफ्नो व्यापारिक प्रभाव फैलाउने प्रयास जारी राखेको छ । यसका कारण दक्षिण-पूर्वी एशियाली मुलुकहरूमा चीनको व्यापारिक पहुँच थप बलियो भइरहेको छ । यद्यपि चीनले अन्य मुलुकमा उत्पादन स्थानान्तरण गरे पनि, त्यो पैसा अझै चीनमै फर्कने प्रक्रिया जारी रहेको छ ।
पेंग जस्ता व्यवसायीहरूलाई अमेरिका र चीन बीचको व्यापार युद्धको समाधानका लागि ‘सौहार्दपूर्ण र शान्तिपूर्ण’ वार्ता सम्भव भयो भने उत्पादनमा रहेका अनिश्चितताहरू कम गर्न सकिन्छ भन्ने आशा छ । उनका अनुसार, ‘अमेरिकन बजारमा चीनका उत्पादनहरूको आवश्यकता अझै कायम छ, र यसलाई ध्यानमा राखेर एक समाधान खोज्न आवश्यक छ ।’








प्रतिक्रिया