अमेरिकामा प्लेन र हेलिकप्टर आकाशमै ठोक्कियो: २४ वर्षपछिको भीषण हवाई दुर्घटना, ६७ जनाको मृत्यु

२८ शव निकालियो, ब्ल्याक बक्स फेला

539
Shares

एजेन्सी । अमेरिकामा यात्रु विमान र सैनिक हेलिकप्टर ठोक्किँदा ६७ जनाको ज्यान गएको छ ।

वाशिंगटन डिसीमा अमेरिकी सेनाको हेलिकप्टर र अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै ठोक्किएको थियो । ठोक्किएपछि विमान र हेलिकप्टर दुबै पेटोम्याक नदीमा खसेका थिए । उक्त दुर्घटनामा विमानमा सवार ६४ र हेलकप्टरका तीन ६७ जनाकै ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।

उक्त घटना २००१ पछि अमेरिकाको सबैभन्दा घातक हवाई दुर्घटना मानिन्छ । २००१ मा एअर फ्लोरिडाको फ्लाइट ९२९ दुर्घटनामा परेको थियो जसमा ७८ जनाको ज्यान गएको थियो ।

त्यस्तै २००१ को सेप्टेम्बर ११ को आक्रमणमा अलकायदाले चारवटा यात्री विमान अपहरण गरी आतंकवादी हमलामा प्रयोग गरेको थियो । ती चार विमानहरूमध्ये दुई विमान न्यू योर्कको वर्ल्ड ट्रेड सेन्टरका टावरमा ठोक्काइएका थिए । एक विमान पेन्टागनमा र अर्को विमान पेनसिल्भेनियाको खेतमा दुर्घटनाग्रस्त भयो । यस हवाई आक्रमणमा २,९७७ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म २८ शवहरू निकालिएका छन् । जसमा हेलिकोप्टरका तीन सैनिक पनि छन् । घटनास्थलमा उद्धार कार्यहरू जारी छन्।

विमान र हेलिकप्टर ठोक्किनुको कारण अझै स्पष्ट हुन सकेको छैन । नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड (एनटीएसबी) ले दुर्घटनाको कारणको बारेमा रिपोर्ट आउन ३० दिनसम्म लाग्न सक्ने भन्दै अनुमान गर्न उपयुक्त नहुने जनाएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार मौसम स्पष्ट थियो । वासिंगटन, क्यान्सासबाट उडेको जेट रूटिन ल्यान्डिङ गर्दै थियो तब अचानक हेलिकप्टरले यसको बाटोमा आयो ।

विमान र हेलिकप्टर ठोक्किनु ३० सेकेन्डभन्दा कम समयअघि एयर ट्राफिक कन्ट्रोलले हेलिकोप्टरसँग सम्पर्क गर्ने प्रयास गर्दै सोधेका थिए, ‘तिमीले विमानलाई देखेको छौं ?’ तर विमानका चालकसँग भने कुनै सम्पर्क नभएको देखिएको छ ।

विमानमा वासिंगटन, क्यान्सासको युएस फिगर स्केटिङ च्याम्पियनशिपको विकास क्याम्पबाट फर्किरहेका स्केटरहरूको समूह, तिनीहरूको प्रशिक्षक र परिवारका सदस्यहरू पनि भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस दुर्घटनामा संघीय विविधता पहललाई दोषी ठहराए । पछि उनले संघीय उड्डयनमा केही नीतिहरू रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे ।

अमेरिकन एयरलाइन्सको विमानका फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर अर्थात ब्ल्याक बक्स फेला परेको सीबीएस न्यूजले जनाएको छ ।

ब्ल्याक बक्सले विमानको दुर्घटनाअघि केही भएको वा ककपिटमा भएको कुराकानी थाहा हुन्छ र यसले विमान दुघर्टनाको कारण पत्ता लगाउन सहयोग पुग्छ ।