काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले औपचारिक रुपमा कार्य प्रारम्भ गरेसँगै २ वटा उपसमिति गठन गरेको छ । नेपाल सरकारले गत पुसमा सहकारी सम्बन्धि कानुनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो ।
उक्त अध्यादेशको व्यवस्था अनुसार सोमबारबाट राष्ट्रिय सहकारी नियमन प्राधिकरणले औपचारिक कार्यप्रारम्भ गरेको छ । ७ माघमा मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त नहुँदासम्मको लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव अर्जुन प्रसाद पोख्रेललाई अध्यक्षको जिम्मेवारी दिएको थियो ।
सोमबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयको औपचारिक उद्घाटन गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेललाई अध्यक्षको सपथ ग्रहण गराएका हुन् । अध्यादेशमार्फत सहकारी ऐनको संशोधन गर्दै सहकारी प्राधिकरणलाई जिल्ला अदालतका न्यायाधीशको सरह न्यायिक निरूपण गर्ने अधिकार समेत दिएको छ।
ऐनले अध्यक्ष रिक्त भएको अवस्थामा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवले अध्यक्षको रूपमा काम गर्ने व्यवस्था गरेको छ । सोही अनुसार सचिव पोख्रेलले अध्यक्ष र सञ्चालकको रूपमा मन्त्रालयको सहकारी हेर्ने सहसचिव मदन कोइराला र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशका गुरु प्रसाद पौडेलले सोमबार सञ्चालकको रूपमा सपथ लिए ।
सञ्चालक समितिको पदभार ग्रहणसँगै आजै बसेको सञ्चालक समिति बैठकले प्राधिकरणको प्रशासनिक काम कारबाही व्यवस्थापनको लागि एउटा उपसमिति र व्यवसायिक कार्यको लागि अध्ययन गर्न अर्को उपसमिति गठन गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पोख्रेलले बताए । उनको अनुसार राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक गुरु प्रसाद पौडेलको संयोजकत्वमा सहकारीको नियमन सम्बन्धि असल अभ्यासहरूको अध्ययन गर्न ३ सदस्य रहेको उपसमिति बताएको उनले बताए । उक्त उपसमितिले नियमन सुपरिवेक्षणमा राष्ट्र बैंकले गरेको अभ्यास र सहकारीको लागि हुन सक्ने असल अभ्यासहरूको अध्ययन गरी प्रतिवेदन पेश गर्ने उनले बताए ।
यस्तै अर्का सञ्चालक मदन कोइरालाको संयोजकत्वमा सांगठनिक संरचना लगायतका प्रशासनिक कार्य कसरी अगाडि बढाउने अध्ययन गर्न अर्को उपसमिति बनेको उनले बताए । उक्त उपसमितिले आवश्यक कर्मचारी संरचना, प्राधिकरणको छाप, बैंक खाता, लोगो देखि प्रशासनिक र कानुनी विषयमा काम गर्ने उनले बताए ।
आजको बोर्ड बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरण औपचारिक रूपमा शुभारम्भ भएको जानकारी विभिन्न निकायलाई दिने निर्णय समेत गरेको उनले बताए ।
प्रतिक्रिया