कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण, दुई कर्मचारी पक्राउ



विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि शनिबार झापामा आक्रमण भएको छ । थापा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

झापाको दोमुखामा नेपाल प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभा कार्यक्रमबाट फर्कने क्रममा कनकाई नगरपालिकाको जुकेखाडीनजिक थापामाथि आक्रमण भएको हो । आक्रमणबाट उनको निधारमा चोट लागेको छ ।

कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार थापामाथि आक्रमण गर्ने नेपाल विद्युत प्राधिकरणका दुई कर्मचारीलाई पक्राउ गरिएको छ ।

बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए । भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि उनीहरूले आक्रमण गरेको बताइएको छ।

निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा आक्रमण भएको प्रहरीले बताएको छ ।

आक्रमणबाट निधारमा चोट लागेका थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।


क्लिकमान्डु