म्याग्दी । भारत र चीन जोड्ने राष्ट्रिय गौरवअन्तर्गत कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङखण्ड कालोपत्रका लागि ५० करोड रुपैयाँको स्रोत सुनिश्चित भएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा नं ३ छुुसाङखण्डको १० किलोमिटर कालोपत्र गर्न बहुुवर्षीय ठेक्का लगाउन ५० करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले बताए ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १० किलोमिटरका लागि बहुुवर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चितता गरेको हो ।
बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले चालु आवभित्र नै ठेक्का सम्झौता गर्ने लक्ष्यसहित ठेक्का आह्वानको तयारी गरिएको बताए । कम्तीमा ११ मिटर फराकिलो हुने दुई लेनको सडकमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरिनेछ ।
आयोजनामार्फत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि चीनको सिमाना कोरला नाकासम्म दुई सय दुई किलोमिटर दूरीमा स्तरोन्नतिको काम भइरहेको छ । २०७४ मा सुुरु भएको योजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।
१० अर्ब लागत अनुमान गरिएको उक्त सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णुु चापागाईले बताए ।
चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा हालसम्म १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ ।
निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म छ अर्ब रुपैयाँ खर्च भएको छ ।
भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
बेनी–मल्लाज सडक स्तरोन्नति
पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँचवटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–मल्लाज सडक स्तरोन्नति भएको छ ।
उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चालनमा असहज हुनुुका साथै दुर्घटनाको जोखिम थियो । घुुम्ती तथा ग्रेड सुधार र ढलान गरेर सडक स्तरोन्नति गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।
पर्वत–बेनी खानेपानी योजनाको ट्याङ्कीमाथि र माइनडाँडा क्षेत्रमा तीन सय मिटर सडक ढलान भएको उनले बताए । उक्त योजनाका लागि जलजला गाउँपालिका, वडा नं २, ३ र ४ ले चालुु आर्थिक वर्ष २०८१/८२ मा ५० लाख रुपैयाँ विनियोजन गरेका थिए ।
सडक स्तरोन्नति भएसँगै माझफाँट, बाँसखर्क, लेखफाँट, म्याग्दीको नागी र राम्चेका स्थानीयलाई आवतजावतमा सहज भएको छ । फराकिलो सडक, नाली निर्माण र उकालोमा ढलान गरेसँगै सवारीसाधन आवतजावतमा सहज भएको जलजला–३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताए ।
यसअघि आव २०७९र८० मा एक करोड १५ लाख रुपैयाँको लागतमा सोही सडकको विभिन्न ठाउँमा चार सय सात मिटर दूरीमा सडक फराकिलो, उकालोमा आरसिसी ढलान, नाली, ग्याबियन जाली र मेसिनरी पर्खाल निर्माण गरिएको थियो ।
मल्लाजवासीलाई पालिका केन्द्र लामाखेत जान र व्यावसायिक कामका लागिसदरमुकाम बेनी जाने यो छोटो दूरीको सडक हो । २०७३ मा मार्ग खुलेको तीन किलोमिटर दूरीको पर्वत–बेनी–मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएको छ । बाँकी ठाउँमा आगामी वर्ष स्तरोन्नति गरिने जनप्रतिनिधिले बताएका छन् ।
सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत मल्लाजको भुुरतुुलाबाट लेकफाँटतर्फ कालोपत्रसहित स्तरोन्नति योजना निर्माणाधीन छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत गत असारमा जलजला वडा नं ४ को दोवदोवेबाट वडा न ३ र २ को मल्लाज हुँदै वडा नं १ बाँसखर्कको सिमानासम्म तीन किलोमिटर एक सय मिटर कालोपत्र र दुई सय ५० मिटर सडक ढलान भएको थियो ।
प्रतिक्रिया