कुलमान उपस्थित हुने सञ्चालक समिति बैठक बस्न ऊर्जा मन्त्री खड्का र दुई सचिवले मानेनन्
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको मंगलबारका लागि राखिएको बैठकमा ऊर्जामन्त्री दीपक खड्का र दुई सचिव नगएको पाइएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको भन्दै उनी ऊर्जामन्त्री र दुई सचिवले बैठकमा बस्न अस्वीकार गरेका हुन् ।
ऊर्जा मन्त्रालयको बोर्ड बैठकमा ऊर्जा सचिव सुरेश आचार्य र राजस्व सचिव दिनेशकुमार घिमिरे अनुपस्थित भएका हुन् । उनीहरु दुवै जना प्राधिकरण सञ्चालक समितिमा सदस्य छन् ।
मंगलबार प्राधिकरणको वित्तिय विवरण पारित गर्न सञ्चालक समितिको बैठक डाकिएको थियो । पुस मसान्तभित्र प्राधिकरणको वित्तिय विवरण पारित गरेर महालेखा पठाउनुपर्ने र कर तिरिसक्नुपर्छ । अन्यथा जरिवाना लाग्छ । सोही कारण सञ्चालक समितिको बैठक डाकिएको थियो । मन्त्री र सचिव नै अनुपस्थित भएपछि सञ्चालक समितिले कुनै निर्णय गर्न पाएन ।
सरकारलाई निरन्तर अहसयोग गरेको भन्दै उनलाई ऊर्जा सचिव सुरेश आचार्यले ९ बुँदे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण पत्रमा सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ । स्पष्टीकरणमा ऊर्जा मन्त्रालयले मागेको १५ बुँदे विवरण स्पष्ट रुपमा नबुझाएको, पटक पटक असहयोगी भूमिका खेलेको, सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको, पदीय मर्यादा विपरितका कामहरु गरेको, मन्त्रालयको निर्देशनलाई अवज्ञा गरेको उल्लेख छ ।
साथै घिसिङले मन्त्रालयले विवरण माग गर्दा सत्यतथ्य लुकाए यथार्थपरक, जवाफ नपठाइ केवल औपचारिकता निर्वाह गर्ने ढंगले असन्तुलित जवाफ र असम्बन्धित कागजात पठाएको उल्लेख छ । मन्त्रालयले माग गरेको कार्य सम्पादन विवरण नबुझाएर लापारबाही गरेको भन्दै स्पष्टीकरण मागेको हो । टिओडी मिटरको विवरण जाँच गर्न ऊर्जा मन्त्रालयले गठन गरेको समितिलाई भत्ता र गाडीको सुविधा दिन नमानी नोट अफ डिसेन्ट लेखेको भन्दै स्पष्टीकरण सोधिएको हो ।