काठमाडौं । चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पको सामान्य असर नेपालमा पनि देखिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु तिब्बतको डिङ्ग्री क्षेत्रको आसपासमा रहेको थियो । नेपाली समयअनुसार बिहान ६:५० बजे भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौंसहित देशका अधिकांश भागमा महसुस गरिएको छ। काठमाडौंको स्युचाटारमा एक व्यक्तिले भूकम्प आइरहँदा अताल्लिएर छतबाट हाम फालेको प्रहरीले जनाएको छ । दुवै खुट्टामा चोट लागेका उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
भूकम्पको असरले बारामा ११ जना विद्यार्थी बेहोस भएका छन् । तर, हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
देशका अन्य भागमा भूकम्पले पुर्याएको क्षतिबारे विवरणहरु नआएको प्रहरीको भनाइ छ ।
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले बागमती प्रदेशका काठमाडौं उपत्का र उत्तरतर्फका तिब्बतसँग सीमाना जोडिएका जिल्लाहरुमा कडा धक्का महसुस गरएको तर कुनै मानवीय तथा भौतिक धनजनको क्षति नभएको जनाएको छ ।
तिब्बतको सिमाना जोडिएको सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण संकलन थालिएको छ ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने, ‘अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।’
उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पुर्याएको अनुमान गरेको बताए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिए ।
चीनमा ५३ जनाको मृत्यु
भूकम्पमा परि निधन हुनेको संख्या ५३ पुगेको छ । साथै ६२ जना घाइते भएका छन् ।
चीन भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) का अनुसार ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा रहेको थियो । केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
यद्दपि नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले चीनलाई केन्द्र बनाएर ७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पका कारण डिङ्ग्रीको चाङ्सुओ टाउनसिप टोंगलाई गाउँमा घर भत्किएका घटनाहरू रिपोर्ट भएका छन् ।
भूकम्पको केन्द्रबिन्दुको वरपर २०० किलोमिटरको क्षेत्रमा पछिल्लो पाँच वर्षमा ३ र त्यसभन्दा माथिका म्याग्निच्युडका २९ वटा भूकम्पहरू आएका थिए । यो भूकम्प तीमध्ये सबैभन्दा ठूलो भएको सीईएनसीले जनाएको छ ।
केन्द्रबिन्दुको ५ किलोमिटर वरपर सातवटा गाउँ रहेका छन् । केन्द्रबिन्दु डिङ्ग्ग्ये जिल्लाबाट ३४ किलोमिटर, डिङ्ग्री जिल्लाबाट ३६ किलोमिटर, सिगात्से सहरबाट १६४ किलोमिटर र तिब्बतको राजधानी ल्हासाबाट ३७९ किलोमिटर टाढा रहेको छ।
उक्त भूकम्पको प्रभाव नेपाल, भारत, भुटान र बंगलादेशसम्म परेको थियो । नेपालमा भने भूकम्पले पुर्याएको क्षतिबारे अहिलेसम्म जानकारीहरु प्राप्त भएको छैन ।
प्रतिक्रिया