देशभरको मौसममा न्यून चापीय प्रणालीको प्रभाव, कहाँ कहाँ होला वर्षा ?



काठमाडौं । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभरको मौसममा परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको मौसममा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारण बदली हुने सम्भावना छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

भोलि मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।


क्लिकमान्डु