प्राविधिक प्रस्तावमा आवेदन दिएका कुनै पनि कम्पनी पास नभएपछि १०६ मेगावाटको जगदुल्लाको ठेक्का रद्द



काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का रद्द भएको छ । स्रोतका अनुसार आवेदन दिएका सबै कम्पनी प्राविधिक प्रस्तावमा पास नभएपछि ठेक्का रद्द गरिएको हो ।

गत जेठ २० गते जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का  निकालेको थियो । ‘७ वटा कम्पनीले आवेदन दिएका थिए । कुनै पनि प्राविधिक रुपमा पास भएनन्, ठेक्का रद्द गर्ने निर्णय भइसकेको छ । भोलिको अन्नपूर्ण पोष्ट दैनिकमा सूचना आउँछ,’ कम्पनीका एक अधिकारीले भने, ‘पुन:हामी टेण्डर निकाल्छौं ।’

आयोजनामा हाइ हिमालयन हाइड्रो र एजीई कम्पनीको जेभी, झोङदिङ इन्टरनेशनल, पटेल इन्जिनियरिङ,लामा कन्स्ट्रक्सनलगायतले आवेदन दिएका थिए ।

यो आयोजनाको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो ।

नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर हुन लागेको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ ।

सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।

एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । 

यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो ।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो बैशाख २८ गते पीपीए भएको हो । वर्खायाममा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा पीपीए भएको छ । हिउँदको पिकिङको भने १०.५५ रुपैयाँ पाउनेछ । यो आयोजनाले ४ देखि ६ घण्टासम्म पिकिङ क्षमता छ ।

आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भईरहेको छ । ९ वटा बेलिवृज गर्नुपर्छ । जसको काम सुरु भईसकेको कम्पनीले जनाएको छ । धेरै जसो पूर्व तयारीका कामहरु अन्तिम चरणमा रहेको बताइएको छ ।

यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य  छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।


क्लिकमान्डु