भारतमा क्रेटा ईभीको बुकिङ खुला, नेपालमा कुन कुन भेरियन्ट आउँदैछ ?
काठमाडौं । हुन्डाई मोटर्स इण्डियाले क्रेटा ईभीको बुकिङ खुला गरेको छ ।
विभिन्न ५ भेरियन्टमा हुन्डाईले बुकिङ खुला गरेको हो । एक्जुकेटिभ, स्मार्ट, स्मार्ट (अप्सनल), प्रिमियम र एक्सिलेन्स भेरियन्टमा बुकिङ खुलेको छ ।
क्रेटा ईभी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ । स्मार्ट (अप्सनल) दुजै ब्याट्री प्याकमा उपलब्ध छ । एक्सिलेन्स ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा र बाँकी भेरियन्ट ४२ किलोवाट आवरमा उपलब्ध छ । तर कम्पनीले अहिलेसम्म मोटर पावरको क्षमताबारे भने कुनै घोषणा गरेको छैन ।
यी कार भारतमा २५०० भारुमा बुकिङ गर्न सकिनेछ । भारत मोबिलिटी ग्लोबल एक्स्पोको पहिलो दिन जनवरी १७ तारिखमा क्रेटा ईभी लन्च हुँदैछ । मध्यम आकारको एसयुभी इन्टर्नल कम्बुस्चन इन्जिन (आईसीई)मा लोकप्रिय क्रेटा ईभीमा समेत लोकप्रिय हुने कम्पनीको दाबी छ । लुक्स र डिजाइन क्रेटाको जस्तै हुनेछ भने इन्टेरियरमा केहि परिवर्तन हुने कम्पनीले बताएको छ ।
क्रेटा ईभीले भारतमा टाटा कर्भ ईभी, एमजी जेडएस ईभी, महिन्द्रा बिई सिक्स र छिट्टै लन्च हुने मारुती सुजुकी ई भिटारामा जस्ता कारहरुसँग प्रतिस्पर्धा गर्नेछ ।
हुन्डाई क्रेटा ईभीको इन्टेरियरमा फ्रेस अपडेट हुनेछ । नयाँ स्टीयरिङ ह्वील डिजाइन, ड्यासबोर्ड लेआउटमा परिमार्जन हुनेछ ।
यो नेपालमा समेत प्रतिक्षा गरिएको कार हो । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूह हो । लक्ष्मी समूहको लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी ल्याउने प्रक्रिया समेत थालिसकेको छ ।
भारत लञ्च लगत्तै कार नेपाल ल्याउने तयारी छ । यहि ल्याएर एसेम्बल गर्नुभन्दा आयात सस्तो पर्छ । सोही कारण कम्पनीले आयात गर्न लागेको छ । क्रेटा आईसीईभन्दा ईभी सस्तो हुनेछ । क्रेटाको मूल्य नेपाली बजारमा ५४ लाख ५६ हजार रुपैयाँदेखि ७६ लाख ९६ हजार रुपैयाँसम्म पर्छ ।
‘आधिकारिक रुपमा कम्पनीले मूल्य सार्वजनिक गरेको छैन । तर आईसीईभन्दा सस्तो नै हुन्छ । आयात गर्दा ईभीमा सहुलियत रहेका कारण सस्तो हुन्छ,’ लक्ष्मी इन्टरकन्टिनेन्टलका एक अधिकारीले भने, ‘जनवरी १७ मा भारतमा लञ्च हुन्छ । फेब्रुअरीमा नेपाली बजारमा आइसक्छ ।’
नेपाली बजारमा चिनियाँ ब्राण्डका कारहरु बिवाईडी एट्टो थ्री, एमजी जेड एस ईभी, सेरेस-३ लगायतसँग प्रतिस्पर्धा गर्नेछ ।
लक्ष्मी ग्रुप अन्तगर्तको लक्ष्मी मोटर्स कर्पोरेसनले नवलपरासी एसेम्बल प्लान्ट स्थापना गरेको छ । यो प्लान्टमा अहिले भेन्यु कार एसेम्बल भइरहेको छ । थप दुई मोडलका गाडी एसेम्बल गर्न लागेको छ । कम्पनीको ग्राण्ड आइटेन र क्रेटा ईभी एसेम्बल गर्ने योजना छ ।
हुन्डाईको गाडी नेपालमै एसेम्बल गर्न नवलपरासीको रामग्राम-६ मा लक्ष्मी मोटर्स कर्पोरेसनले एसेम्बल प्लान्ट तयार पारिएको छ । बैशाख २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि प्लान्टबाट भेन्यु गाडी एसेम्बल सुरु भएको हो ।
लक्ष्मी ग्रुपले करिब २ अर्ब रुपैयाँ खर्चेर तयार पारेको एसेम्बल प्लान्ट १० बिघामा फैलिएको छ । करिब ११ महिनामा यो प्लान्ट तयार पारिएको थियो ।