सहकारी ठगीदेखि मानव बेचबिखनमा कांग्रेस नेताको संलग्नता देखिए कारबाही हुन्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा रहेका जोसुकै भए पनि सहकारी ठगी संलग्न होस् वा मान्छेलाई बेचबिखनमा दोषी देखिए कारबाही हुने बताए ।

उनले भने, ‘हामी पार्टी शुद्धीकरणको प्रक्रियामा लाग्नुपर्छ । अब हामी गाली खाएर बस्ने होइन । आफ्नै पार्टीभित्र पनि कुरा उठाऔं, जहाँ कानून बनाउने हो, त्यसमा पनि कुरा उठाऔं । निर्दोष कोही पनि पर्नुहुन्न, दोषी जो भए पनि उम्कनुहुन्न ।’

महामन्त्री थापाले चर्चामा रहेका ४० भन्दा बढी भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए ।

उनले भने, ‘मैले प्रचण्डजीलाई अगाडि राखेरै भनेको हो । सरकार सँगै बसेको हुन्छ, यस्तो मायाप्रेम देखिन्छ, अहिले ४० वटा ललिता निवास, गिरीबन्धु, क्यान्टोनमेन्टलगायत जेसुकै हो । सबैको छानबिन गर्नुपर्छ ।’


क्लिकमान्डु