भैंसीको मासु चीन निर्यात नगर्न राजधानीमा र्याली
काठमाडौं । भैंसीको मासु चीन निर्यात गर्ने सझौताविरुद्ध अभियानकर्मीहरुले शनिबार राजधानीमा र्याली प्रदर्शन गरेका छन् ।
अहिंसावादी संघ, संस्थाहरूले काठमाडौंको भद्रकालीबाट त्रिपुरेश्वर हुँदै माइतीघर पुगेर पदयात्रा समापन गरेका हुन् ।
‘भारतले नमानेपछि नेपालमा बधशाला बनाउने जाल, भैंसीको मासुभन्दै गाई पनि सक्काउने चाल’ भन्ने नारासहित भैंसीको मासु निर्यात सम्झौताविरुद्ध शान्तिपूर्ण पदयात्रा गरिएको अहिंसावादी संघ, संस्थाहरूले बताएका छन् ।
साथै उनीहरुले नेपाल देवभूमि हो दानव भूमि नबनाऔं,सम्पूर्ण प्राणीप्रति करुणा भाव राखौं लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए । उनीहरु चीनमा भैंसीको मासु भन्दै गाईको मासु निर्यात गर्न लागेको भन्दै विरोध जनाएका छन् ।