पर्यटकको अभावमा नयाँ वर्षमा सुनसान बन्यो सौराहा



चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे ।

मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपथ्र्यो । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे ।

तर यो वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन । नयाँ वर्षको दुई दिन पहिलेदेखि दुईदिन पछिसम्म होटलमा पर्यटकको राम्रो उपस्थिति हुने गर्दथ्यो ।

विगत १४ वर्षदेखि प्रत्यक्षरूपमा पर्यटन व्यवसाय लाग्नुभएका क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे आफूले पेसा अँगालेपछिको नयाँ वर्षमा सबैभन्दा कम पर्यटक यस वर्ष आएको बताए । व्यवसायीको भनाइमा यो वर्ष ८० प्रतिशतभन्दा बढी कोठा भरिएका थिएनन् ।

घिमिरेको भनाइमा सडक सञ्जालका कारण पर्यटकको आगमनमा कमी भएको हो । काठमाडौँबाट आउने पर्यटक दिनको समयमा राजमार्ग बन्द हुने भएकाले रोकिए । यस्तै पोखरा र बुटवलतर्फबाट आउनेहरू बाटो सहज नहुँदा आउन अनिच्छुक देखिए ।

घिमिरेले भने, ‘सडकसँगै आर्थिक मन्दी र यहाँ नयाँ कार्यक्रम नहुँदा पर्यटकको कमी भएको हुनुपर्छ ।’

केही दिन अगाडिसम्म हात्ती महोत्सव भए पनि नयाँ वर्षका दिन खासै ठूलो कार्यक्रम हुन सकेन । सौराहा क्षेत्रमा साँझमा घुमेर फर्किने आन्तरिक पर्यटकको सङ्ख्या राम्रै देखिए पनि होटलमा बस्नेहरूमा कमी आएको उहाँको भनाइ छ ।

होटल जङ्गल क्राउनका महाप्रबन्धक सन्तोष गिरी बालबालिकाको परीक्षाको कारण पनि पारिवारिक घुमघाम कम भएको अनुमान गर्नुहुन्छ । कार्यक्रम राखिएका होटलमा पर्यटक भरिए पनि धेरै होटलले पाहुना कम भएको गुनासो गरेको उनले बताए । विगतका वर्षहरूको तुलनामा यस वर्ष पर्यटकमा कमी आएको उनको भनाइ छ ।

सौराहा आउने पर्यटकको मुख्य रोजाइ जङ्गल सफारी हुने गर्दछ । हात्ती सफारी गराउँदै आएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा नयाँ वर्षमा पनि पर्यटकको सङ्ख्यामा कमी आएको बताए ।

विगतका वर्षहरूमा एउटा हात्तीले पाँच पटकसम्म पर्यटकलाई जङ्गल घुमाउने गरेको स्मरण गर्दै उनले यस वर्ष मुस्किलले तीन खेप गरेको बताए ।

उनले भने, ‘विगतमा पाँच पटक हात्तीले पर्यटकलाई घुमाउँदा पनि पालो नपाएर धेरै फर्किने गर्दथे ।’

उनको भनाइमा यस वर्ष २५ प्रतिशतभन्दा कम पर्यटक सौराहा घुम्न आएको अनुमान गर्न सकिन्छ ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया सडक सञ्जाल, आर्थिकमन्दी, बालबालिकाको परीक्षालगायतका कारण पर्यटकको कमी भएको जानकारी दिए ।

उनले भने, ‘बाटो कुनै निर्माणाधीन, कुनै बन्द छन्, जहाजको भर छैन, कहाँबाट पर्यटक आउनु ?’

आम नागरिक आर्थिकमन्दीको चपेटामा रहेकाले पनि घुम्न आउने घटेको उनको भनाइ छ ।

सौराहामा एक सय ६० वटा होटल छन् । ती होटलमा छ हजार पाँच सय पर्यटक अटाउँछन् । असी प्रतिशत हाराहारी मात्रै भरिएको थपलियाले बताए ।

उनले भने, ‘पहिले पहिले दिउँसै होटल भरिएर सूचना टाग्नुपथ्र्यो, यो वर्ष यस्तो भएन ।’

आएकामध्ये ८० प्रतिशत नेपाली र बाँकी भारतीय एवं तेस्रो मुलुकका रहेको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, डुङ्गा, हात्ती सफारीका लागि पर्यटक आउने गर्दछन् ।


क्लिकमान्डु