माओवादी पहिलो पार्टी बने गिरीबन्धुको फाइल खोल्छौं, भ्रष्टाचारीहरुलाई देशबाट लखेट्छौं : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी भएमात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने दाबी गरेका छन् ।

कञ्चनपुरको पुनर्वासमा माओवादीले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारीहरुले आफू नेतत्वको सरकार ढालेको दाबी गरे ।

उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, गिरीबन्धुको फाइल खुल्नेछ । त्यसलाई लुकाउन दिइनेछैन । ओम्नीमा भएको भ्रष्टाचार छोडिनेछैन । वाइडबडीको भ्रष्टाचार छोडिनेछैन । यो सबैको निम्ति माओवादीलाई पहिलो पार्टी बनाउनुपर्छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुनेछ । यो विश्वास तपाईंहरुलाई दिलाउँछु ।’

प्रचण्डले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको पक्षमा धेरै काम गरेको जिकिर गरे ।

‘अहिलेको सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ । भ्रष्टाचारका विरुद्ध छैन’ अध्यक्ष प्रचण्डले भने । 

आफ्नो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरू पनि आफ्नो उक्त सरकारको भयभीत भएको उल्लेख गरे ।

उनले सुदूर पश्चिममा विश्वविद्यालय स्थापनाको प्रस्ताव गरेको, मध्य पहाडी र हुलाकी लोकमार्गको प्रस्ताव गरेर कार्यान्वयनमा लगेको, कैलाली भजनीमा ४०० केबीको अन्तर्देशीय प्रसारण लाइनको काम अगाडि बढाएको, कृषि तथा स्थानीय स्रोतमा आधारित उद्योग स्थापनाका लागि नीति निर्माण र विद्युतको क्षेत्रमा पनि सेती परियोजना अगाडि बढाइएको, सुदूरपश्चिमका युवाहरूमा क्रिकेटको राम्रो क्रेज भएकोले रङ्गशाला निर्माणमा पहल गरेको समेत उनले बताए ।


क्लिकमान्डु