ओलीले नेतृत्व नछोड्दा एमालेमा उकुसमुकुस छ: घनश्याम भुसाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको माहोल शान्त हुने बताए।

उनले नेता भीम रावललाई पार्टीले निष्कासन गरेको विषयमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताए। उनले यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यसबेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको बताए।

उनले ओलीले एमाले नेतृत्व नछोडे नेताहरुको उकुसमुकुस अझै बढ्ने बताए। ओलीले पार्टीको नेतृत्वमा रहेर गरेका निर्णय, निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा लिएका निर्णयहरु असफल भइसकेको उनको भनाइ थियो।

उनले भने,’नेकपा एमाले हामीले लडेर आफै बनाएको पार्टी हो। त्यहाँ तमाम साथीहरु छन्। अहिले उकुसमुकुसमा छन्। भनेका छैनन्। यो घटना जसरी घट्दै छ, यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ। कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ। निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो। उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो।’


क्लिकमान्डु