रुरल डेभलपमेन्ट सहकारीको जग्गा कोषाध्यक्ष र सदस्यको नाममा, बचतकर्ताको पैसा व्यक्तिको नाममा



काठमाडौं । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेमा रहेको रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाको जग्गा कोषाध्यक्ष अप्सरा श्रेष्ठ र सदस्य राधिका श्रेष्ठको संयुक्त नाममा रहेको पाइएको छ ।

काठमाडौं महानगरपालिका सहकारी विभागले २०८१ वैशाख १८ गते गरेको अनुगमनले यस्तो देखाएको हो ।

संस्थाको हिसाबमा भएको १३ लाख ७५ हजार ५०० रुपैयाँको भिमढुंगा-३ स्थित कित्ता नं ६१ को १ रोपनी ११ आना २ पैसा क्षेत्रफलको जग्गा संस्थाको नाममा नभई संस्थाको संचालक समितिको कोषाध्यक्ष अप्सरा श्रेष्ठ र सदस्य राधिका श्रेष्ठको संयुक्त नाममा रहेको पाइएको छ ।

यस विषयमा अनुगमनका क्रममा लालपुर्जा उपलब्ध गराइए पनि के कसरी संस्थाको हिसाब मिलान गरेको हो, एकिन गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।

अनुगमनका क्रममा सहकारीको हिसाब किताब समेत अद्यावधिक नगरेको हुँदा तिर्नुपर्ने बचत दायित्व तथा ऋणका विषयमा यकिन हुन सकेको छैन ।

सहकारीको कार्यक्षेत्र काठमाडौं महानगरपालिका-२ को नेपाल रुरल डेभलपमेन्ट फाउन्डेशनसँग आवद्ध सम्पूर्ण सदस्यहरूमा मात्र सीमित भए पनि संस्थाले अन्य व्यक्तिहरूलाई समेत सेयर सदस्य बनाएर कारोबार गर्ने गरेको पाइएको छ । यो सहकारी २०६७ असार २४ गते दर्ता भएको हो । स्थापनाकालदेखि नै आङबाबु राई संस्थाको अध्यक्ष रहेका छन् ।

विगतमा अध्यक्ष तथा कोषाध्यक्ष संस्थाको कार्यकारी भूमिकामा रहेको भए पनि उनीहरूको नियुक्ति र पारिश्रमिक साधारण सभाबाट स्वीकृत नभएको पाइएको छ । प्रतिवेदनका अनुसार, आ.व २०७५/७६ देखि साधारण सभा भएको छैन ।

हाल संस्थामा बचत संकलन गर्ने कार्य रोकिएको छ । सहकारीले कर्जा समितिको छुट्टै बैठक नबसी संचालक समितिबाट कर्जा स्वीकृत गर्ने गरेको पाइएको छ ।

लेखा सुपरिवेक्षण समिति निस्कृय रहेको छ । संस्थाको पूँजीकोष ऋणात्मक रहेको छ । सहकारीले ऋणको अधिकतम ब्याजदर २३ प्रतिशत लिने गरेको छ ।

कर्जा लगानी गर्दा दोस्रो पक्षको जमानी राख्ने नगरेको, तर ऋणी बाहेक दोस्रो ऋणी खडा गरी कर्जा तमसुकमा हस्ताक्षर गराउने गरेको पाइएको छ ।

संस्थाले धितो रोक्का राखी कर्जा प्रबाह गर्ने गरेको छैन । अनुगमनको क्रममा कर्जा प्रबाह गर्दा १ देखि ३ प्रतिशतसम्म सेवा शुल्क लिने गरेको छ । संस्थाले कर्जा लगानी गरेपछि अतिरिक्त सेवा शुल्क लिइ उक्त रकम खाता नं । ००१–सीए–००३८१ (एबी राई) को व्यक्तिगत खातामा जम्मा गरी केही सीमित व्यक्तिहरूले उक्त रकम दुरुपयोग गरेको पाइएको छ ।

सहकारीले लाक्पा राईलाई लगानी भएको १० लाखको कर्जामा ब्याज पुँजीकरण गरी १३ लाख ४२ हजार ६११ रुपैयाँको कर्जा फाइल बनाएको पाइएको छ । आव २०७८–७९ तथा आव २०७९–८० को लेखा परिक्षण प्रतिवेदनमा कर्मचारी खर्च क्रमशः २४ लाख ६७ हजार ४१६ तथा १० लाख ३ हजार ४३५ रुपैयाँ रहेको देखिए पनि अनुगमनको क्रममा सोसँग सम्बन्धित कागजात उपलब्ध नभएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

सहकारी ठगी गरेको भन्दै संस्थाका अध्यक्ष आङ बाबु राई पक्राउ परेका छन् ।


क्लिकमान्डु