आज रवि लामिछानेविरुद्ध मुद्दा दर्ता हुँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको छ । पूरक जाहेरी लिएपछि पक्राउ परेका र हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति लामिछाने प्रहरी हिरासतमै छन् ।

यसअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी भएको ठगी सम्बन्धमा शुक्रबार गितेन्द्र बाबु राई (जीबी राई) सहित १९ जनाविरुद्ध थप अभियोगमा पत्र दायर भइसकेको छ । उनीहरूविरुद्ध पहिले नै मुद्दा दर्ता भइसकेको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिल प्रतिवेदनअनुसार ५१ जनाविरुद्ध कैद सजायसँगै १ अर्ब ५५ करोड बिगो माग दाबी गरिएको छ ।


क्लिकमान्डु