जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । त्रिवि क्रिकेट मेदानमा जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ५८ रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
ब्रान्डन म्याकमुलेनले २५ रन बनाउँदा साइब जेबले ३२ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले २० रनको योगदान गरे । जनकपुर बोल्ट्सका लागि ललितनारायण राजबंशी र किशोर महतोले १–१ विकेट लिए बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जनकपुरका लागि जिम्मी निसमले सर्वाधिक ४५ रन बनाए ।
त्यस्तै शुब कंशकारले २६ रन बनाउँदा हर्श ठाकेर र लाहिरु मिलान्थाले १२–१२ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए ।
उलने ४ ओभर बलिङ गर्दै २९ रन खर्चे । त्यस्तै सेफ जैबले २ विकेट लिँदा अबिनाश बोहरा र स्कट कुग्लिङले १–१ विकेट हात पारे । आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको छ । पराजित जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
आज नै भएको इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली क्वालिफायरमा प्रवेश गरको थियो । कर्णाली र जनकपुरबीचको दोस्रो क्वालिफायर खेल बिहीबार १२ः१५ बाट सुरु हुनेछ ।